२८ आश्विन २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश गौरवको सडक निर्माणले गति लिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

काठमाडौं, फागुन ३० । सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट दार्चुला सडक निर्माण अघि बढेकोे छ ।

आर्थिक वर्ष २०५५/५६ मा उक्त सडक शिलान्यास गरिएको थियो, यसको ठिक २४ वर्षपछि सडक निर्माणले गति लिएको छ ।

सुरुमा ‘ट्र्याक’ खोल्नै ढिला भएकामा प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाका रुपमा राखेपछि हाल स्तरोन्नतिको काम अघी बढेको छ ।

पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख जङ्गबहादुर थापाका अनुसार हाल कालोपत्र गर्ने काम भइरहेको जनाउनुभयो, सडकको सतबाँझदेखि साढे छ किलोमिटर र श्रीभावरदेखि हाट खण्डमा साढे आठ किलोमिटर कालोपत्र गर्न ठेक्का सम्झौता भएर काम भइरहेको छ । उहाँले भन्नुभयो, “आगामी जेठभित्र छ किलोमिटर कालोपत्र गरिसक्ने लक्ष्यसहित ठेक्का पाएको चन्द्रा एन्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले कालोपत्रको काम गरिरहेको छ ।”

आगामी जेठ मसान्तभित्रै काम सम्पन्न गर्ने गरी श्रीभावरदेखि हाट खण्डमा साढे आठ किलोमिटर स्तरोन्नतिको काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सतबाँझदेखि छ किलोमिटर सडक स्तरोन्नति गर्न रु १२ करोडमा ठेक्का सम्झौता भएको थियो भने श्रीभावरदेखि हाट खण्डमा आठ किलोमिटर स्तरोन्नतिका लागि १७ करोडमा यसअघि ठेक्का सम्झौता भएको थियो । अहिले दुवै ठाउँबाट सडक स्तरोन्नति गर्ने कार्य सुरु भएको जनाइएको छ ।

सडक निर्माणले गति लिएपछि खुसी लागेको सुर्नयाका सुरेश महराले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि कच्ची सडकका कारण हिउँदमा धुलाम्मे हुने, बर्सातमा हिलाम्मे भएर जोखिपूर्ण यात्रा गर्नुपरेको थियो । अब कालोपत्र भएपछि सहज हुने र सदरमुकाम पनि छिटो पुगिनेछ ।”

जिल्ला सदरमुकामका साथै भारतीय सिमानाका झुलाघाट जोड्ने छोटो बाटोका रुपमा रहेको यो सडक स्तरोन्नतिपछि सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिकाका साथै र बझाङका नागरिकलाई समेत सहज हुनेछ ।

दुई दशकपछि सडक निर्माणले गति लिएको भए पनि समयमै कालोपत्र सम्पन्न हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् । प्रदेशको गौरवको योजनाअन्तर्गत यो सडकको स्तरोन्नति पश्चात् नागरिकको जीवनस्तर सुधार हुनाका साथै ग्रामीण अर्थतन्त्रमा सुधार आउने पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमको भनाइ थियो ।