
सप्तरी, २९ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार र सत्तारुढ दश दलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्याएको र अस्थिरता निम्त्याएको बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी सप्तरीद्वारा आइतबार आयोजित मिसन ग्रासरुट अभियानअन्तर्गत जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनले विकास निर्माणमा अवरोध पुर्याएको तथा राष्ट्रिय स्वाभिमान र स्थिरता कमजोर बनाएको बताएका हुन् ।
यस्तै, बाहिरी शक्तिले हावा भर्नासाथ दश दलीय गठबन्धन सत्तास्वार्थमा लिप्त भएको तथा राजनीतिक स्थिरता र राष्ट्रियताको मामलामा सरकारले निर्लज्जताबाहेक अरु केही देखाउन नसकेको उनले बताए । वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरू बाह्य शक्तिका आड र भरोसामा सत्तास्वार्थमा लिप्त रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ ।
पोखरेलले एमाले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित र सुदृढ बनाई बहुमत जनताको विश्वास जित्ने योजनाका साथ अगाडि बढेको बताउँदै कुनै पनि राजनीतिक दल भीडमा परिणत भयो भने शक्ति आर्जन गर्न नसक्ने प्रष्ट पारे । स्थानीय पार्टी कमिटीहरूलाई पालिका तहमा पनि संसदीय दल गठन गरी अगाडि बढ्न उनले निर्देशन दिएका छन् ।
मुलुकको विकास र समृद्धिका लागि जनप्रतिनिधिको काम प्रभावकारी हुनुपर्ने उनको भनाइ छ ।















प्रतिक्रिया