
काठमाडौं, २८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले लिएको नीतिहरुका कारण मुलुकको आर्थिक समस्या सुधार हुदै आएको बताएका छन् ।
आइतबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा मुलुक संकटमा पर्ने खतरा देखिएपनि बाह्य क्षेत्र सन्तुलनमा राख्न सरकारले लिएका नीति सफल भएका कारण आर्थिक संकट टरेको बताए ।
उनले अहिले १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेकाले अर्थतन्त्र संकटबाट क्रमश: सुधारतर्फ अग्रसर भइरहेको जिकिर गरे । अनावश्यक खालका चालू प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता रहेको र सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको प्रचण्डले बताए ।
निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्न सरकार संकल्पवद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले कोभिड महामारी, बाह्य युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारण केही निर्माण सामग्रीहरूको मूल्य बढेकाले निर्माण व्यवसायीको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकार गम्भीर रहेको धारणा राखे ।
निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरु आउने गरेको भन्दै प्रधानमन्त्रीले निर्माण व्यवसायीहरू अत्यन्त जिम्मेवार भएर काम गर्न जरूरी रहेको बताए ।















प्रतिक्रिया