३० आश्विन २०८३, शुक्रबार

एमालेको मिसन ग्रासरूट अभियान : यस्ता छन् शनिबारका १० गतिविधि (तस्वीरसहित)

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत आज कास्की, धादिङ, ललितपुर, जुम्ला, कालिकोट, बाँके र बारामा भएका विभिन्न १० वटा गतिविधिहरू प्राप्त भएका छन् ।

ती जिल्लाहरूमा पालिका र वडास्तरीय भेला, प्रशिक्षण र अभिमुखीकरणका साथै टोल कमिटीहरू गठन गरिएका छन् । साथै पार्टीका विभिन्न संगठनहरूले आफ्नो अधिवेशन सकेन सम्पन्न गरेका छन् ।

पोखरा

नेकपा एमालेको संगठन सुदृढ़ीकरण तथा विस्तार अभियान मिसन ग्रासरुट अन्तर्गत नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन गण्डकी प्रदेशको अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पार्टी केन्द्रीय सचिव एवम् गण्डकी प्रदेश इञ्चार्ज पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यता र गण्डकी प्रदेश अध्यक्ष शेरबहादुर जीसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सचिव अर्यालसहित संगठनका केन्द्रीय अध्यक्ष ब्रिगेडियर जनरल विनोद पाण्डे, वरिष्ठ उपाध्यक्ष क्याप्टेन लालकाजी गुरुङ, केन्द्रीय सचिव अर्जुन नागिला, मनबहादुर गुरुङलगायतले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, संगठनका केन्द्रीय सदस्य धर्मदत्त तिमल्सेना, गोपाल बबहादुर गुरुङ, शेर बबहादुर गुरुङ, कमल गुरुङ, श्याम बहादुर गुरुङ, बिर्खबहादुर गर्बुजा, दिपक केसी, देवी प्रसाद शर्मा, सालबहादुर राना, नरबहादुर गुरुङ, शेरबहादुर थापा मगर, डोरमणि गिरीलगायतको उपस्थिति थियो ।

धादिङ

दुई महिले ग्रासरुट अभियानअन्तर्गत धादिङका विभिन्न वडाहरूमा भेला तथा बैठकहरू धमाधम सञ्चालन भइरहेका छन् । जिल्लाको नीलकण्ठ र धुनीबेसी नगरपालिका तथा गंगाजमुना र गल्छी गाउँपालिकामा अभियानअन्तर्गतका कार्यक्रमहरू भएका हुन् ।

पार्टी केन्द्रीय सदस्य कैलाश ढुङ्गेलको आतिथ्यतामा नीलकण्ठ नगरपालिका–१० ज्यामरुङमा नेकपा एमालेको वडा कमिटी बैठक सम्पन्न भएको छ । यस्तै धुनीबेसी नगरपालिका–९ नौबीसेमा नारायणी खत्रीको अध्यक्षतामा ३१ सदस्यीय टोल कमिटी पुनर्गठन तथा वडा नम्बर ५ मा वडा कमिटी बैठक सम्पन्न भएको छ ।

यसैगरी जिल्लाको गंगाजमुना गाउँपालिका–६ बसेमा वृहत कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले भेलालाई सम्बोधन गर्नुभयो । यस्तै, गल्छी गाउँपालिका–१ मा वडा कार्यकर्ता भेला सम्पन्न भएको छ । टोलटोलमा केन्द्रीय नेता पुगेर जनतालाई एमालेबारे बुझाइने भेलाले कार्ययोजना बनाएको छ । भेलालाई केन्द्रीय सदस्य केशव स्थापितले सम्बोधन गर्नुभएको थियो ।

ललितपुर

मिसन ग्रासरुट अभियानअन्तर्गत ललितपुरको महाँकाल–१ बुखेल वडा कमिटीको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य एवम् अभियानका लागि केन्द्रीय प्रतिनिधि तोकिनुभएका बिषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा प्रमुख अतिथि बिषमलाल अधिकारी दनुवार, बागमती प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभाका पूर्वसदस्यद्वय चेतनाथ सञ्जेल र मैना अछामी, जिल्ला कमिटी सदस्यद्वय साजन दर्लामी र श्याम बजगाई, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष रामहरि घिमिरे तथा गाउँपालिका अध्यक्ष पुरुषोत्तम हुमागाईले अभियानबारे थप प्रष्ट पार्दै आ–आफ्नो सुझावसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बैठकले आगामी चैत ४ गते वडाका सिमढुङा, केवलडाँडा र कतौनबेसीमा टोल कमिटीको बैठक राखी सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता आवेदन भराउने कार्यक्रम तय गरेको छ ।

जुम्ला

जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ र ३ मा मिसन ग्रासरुट अभियानअन्तर्गतका वडास्तरीय भेलाहरू सम्पन्न भएका छन् । केन्द्रीय कमिटी सदस्य विष्णु रिजालको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष कालो कामीको अध्यक्षतामा वडा नम्बर १ को बाइरॉकामा भेला सम्पन्न गरिएको हो ।

भेलामा प्रदेश कमिटी सदस्य मेनका पछाई, जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत, उपाध्यक्ष सुरत शाही, सचिव धनकृष्ण पाण्डे र प्रदेश प्रतिनिधि नारायणी चौलागाईंको उपस्थिति थियो । यसैगरी जिल्ला कमिटी सदस्य चन्द्रमान बुढा, अमर रोकाया, क्षेत्रबहादुर महत, गाउँ कमिटी अध्यक्ष पूर्ण पाण्डे, सचिव राजु रावत, युवा संघका जिल्ला अध्यक्ष हरिश रोकायालगायतको उपस्थिति थियो

कास्की

मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ४ लाहाचोकमा बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि कल्पना चापागाईको प्रमुख आतिथ्यता र वडा अध्यक्ष टेकबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

वडाका कार्यकर्ता र पार्टी सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि चापागाईं र प्रदेश कमिटी अध्यक्ष नवराज शर्मालगायतले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणलाई अन्य वडामा समेत प्रभावकारी रूपले अगाडि बढाउने कार्ययोजना तयार भएको छ ।

कालिकोट

मिसन ग्रासरूट अभियानअन्तर्गत कालिकोटको तिलागुफा नगरपालिकाको वडा नं. १, २ र ३ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कालिकोट इञ्चार्ज एवम् केन्द्रीय प्रतिनिधि नगिन्द्र शाही (नेशनल)को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि तर्क शाही, प्रदेश कमिटी सदस्य पुत्र मल्ल, जिल्ला कमिटी सदस्य ऐनबहादुर शाहीलगायतको उपस्थिति थियो ।

बाँके

मिशन ग्रासरुट अभियानका सन्दर्भमा रिटर्नी फेडरेसन नेपाल बाम्केले आफ्नो पहिलो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । खजुरा गाउँपालिकाका जनप्रतिनिधि समेत रहनुभएका एमाले नेता किस्मत कुमार कक्षपतिको प्रमुख आतिथ्यता र फेडरेसनका जिल्ला अध्यक्ष अमर बिरही श्रेष्ठको अध्यक्षतामा अधिवेशन सम्पन्न गरिएको हो ।

अधिवेशनले अमर बिरही श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हेमराज गौतम, सचिवमा केशरबहादुर बुढा, कोषाध्यक्षमा गोविन्द खत्री सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनमा रिटर्नी फेडरेसन नेपालका केन्द्रीय उपाध्यक्ष हिरा खनाल, केन्द्रीय सदस्य दीपेन्द्र जोशी, जिल्ला कमिटी सचिवालय सदस्य राम थापालगायत नेताहरूको सहभागिता थियो ।

जुम्ला

मिसन ग्रासरूट अभियनअन्तर्गत जुम्लाको गुठीचौर गाउँपालिका वडा नं. ४ को खलालबाडा टोलमा १३ सदस्यीय टोल कमिटी गठन गरिएको छ । तीर्थ सार्कीको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्षमा जिल्के न्यौपाने, सचिवमा सर्पराज न्यौपाने तथा उपसचिवमा तुलाचन्द्र न्यौपाने र तारदेवी पाण्डे चयन हुनुभएको छ ।

यस्तै, झम्ममाया थापा जैसीसहित तीन सदस्यीय टोल सल्लाहकार कमिटी गठन गरेको छ । टोल भेलामा केन्द्रीय सदस्य नगिन्द्र शाही (नेसनल) प्रदेश कमिटी सदस्य जयबहादुर खत्री, जिल्ला कमिटीका उपसचिव प्रेम बुढाजीलगायत नेताहरूको उपस्थिति थियो । भेलामार्फत १२ जना पार्टी सदस्यको नवीकरण गरिएको छ भने १५ जनाले नयाँ पार्टी सदस्यका निम्ति आवेदन फाराम भरेका छन् ।

बाँके

मिसन ग्रासरुट अभियानअन्तर्गत आज बाँकेको खजुरा गाउँपालिका–६ उढरापुरको वडा बैठक तथा भेला सम्पन्न भएको छ । खजुरा गाउँपालिकाका जनप्रतिनिधि समेत रहनुभएका एमाले नेता किस्मत कुमार कक्षपतिको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष प्रेमलाल श्रेष्ठको अध्यक्षतामा बैठक तथा भेला सम्पन्न भएको हो ।

बैठकले केन्द्रीय अभियानलाई सफल बनाउन टोल कमिटी विस्तार र गठन, सदस्यता नवीकरण र घरदैलो कार्यक्रम तथा प्रशिक्षण गर्नेलगायत कार्यक्रम निर्धारण गरेको छ । बैठकमा प्रमुख अतिथि कक्षपतिसहित स्थानीय नेताहरू नन्द बिश्वकर्मा, भीम ओली, लिलबहादुर नेपाली, कौशिला कठायतलगायतले प्रशिक्षणमुलक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बारा

नेकपा एमालेले बाराको परसौनी गाउँपालिकामा पालिका सभादल गठन गरेको छ । दलको नेतामा परसौनी गाउँपालिकाका अध्यक्ष बिनोद जैसवाल चयन हुनुभएको छ ।

त्यसैगरी सभादलको उप नेतामा उपाध्यक्ष किरणदेवी साह र प्रवक्तामा वडा नम्बर ७ का अध्यक्ष इस्लाम मिया चयन हुनुभएको छ । पालिका अध्यक्ष बिनोद जैसवालको सभापतित्वमा सम्पन्न बैठकमा केन्द्रीय सदस्य अरबिन्द सिंह, प्रदेश कमिटी सदस्य मनोज पौडेल, राजमहमद रायलगायतको उपस्थिति थियो ।