
काठमाडौं, २७ फागुन । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो पार्टीबाट दुई जनाको उम्मेदवारी दर्ता गराएको छ ।
जसपाले रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादवको उम्मेदवारी दर्ता गराएको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन प्रयोजनका लागि संसद भवनमा निर्वाचन आयोगले स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयका अनुसार रामसहाय प्रसाद यादवको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी रहेका छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा भानुभक्त जोशी रहेका छन् ।
यस्तै, यस्तै प्रमिला कुमारी यादवको प्रस्तावकमा मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, रञ्जु झा र राजकिशोर यादव तथा समर्थकमा अनिता देवकोटा, सीता गुरुङ, वीरेन्द्र महतो, मनिस सुमन र सुशीला श्रेष्ठ रहेका छन् ।
सत्ता गठबन्धनमा समेत सामेल रहेको जसपाले दुई वटा उम्मेदवारी दिइरहँदा सत्ता गठबन्धनकै अर्को दल जनमत पार्टीले पनि ममता झालाई उम्मेदवार बनाएर मनोनयन दर्ता गरेको छ ।
जसपा र जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनुपर्ने दाबी नछोडेपछि आज बिहान बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बन्यो र तीनै जनालाई उम्मेदवारी दिन अनुमति दियो । तर, जसपाबाटै दुई जनाको उम्मेदवारी किन भन्ने आम चासो उत्पन्न भएको छ ।
जसपाले पार्टीभित्रको विवादका कारण दुई जना उम्मेदवार खडा गरेको भने पटक्कै होइन । उसले निर्वाचन आयोबाट हिजो भएको निर्णय र गठबन्धनमा आफ्नो दाबी बलियो बनाउनका लागि एक जना महिला र एक जना पुरुष उम्मेदवारको नाम अघि सारेर उम्मेदवारी दिएको हो ।
जसपाले पार्टीको आन्तरिक सन्तुलन कायम गर्न रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउन चाहेको छ । तर, निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भइसकेको अवस्थामा अब उपराष्ट्रपतिमा महिला मात्रै उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम आयोगले यस्तो निर्देशन दिएपछि पुरुषको उम्मेदवारी खारेज गर्ने प्रवल सम्भावना रहेपछि जसपाले पुरुषको उम्मेदवारी खारेज भए पनि महिला उम्मेदवारको कायम राख्ने र गठबन्धनभित्र आफ्नो दाबी बलियो बनाउने उद्देश्यका साथ दुई वटा उम्मेदवारी खडा गरेको हो ।
आयोगको निर्णय के हो ?
निर्वाचन आयोगले मनोनयनको एक दिन अगाडि नै उपराष्ट्रपतिको निर्वाचनमा पुरुषबाहेकको उम्मेदवारी दिन दलहरूलाई आग्रह गरेको छ । आयोगले संविधानअनुरुप नै फरक लिंग वा फरक समुदायको मात्र मनोनयनपत्र दर्ता गर्नका लागि आग्रह गरेको हो ।
आयोगको शुक्रबार बसेको बैठकले उम्मेदवारको योग्यता क्रममा थप स्पष्ट पार्दै निर्वाचत अधिकृतहरुलाई निर्देशन दिएको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा ‘नेपालको संविधानको धारा ७० मा यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।
यस्तै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा ’यस दफाबमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सो भन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ ।
‘२०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस–आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिंग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिंग (महिला वा अन्य) वा फरक समुदाय दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया