
काठमाडौं, २५ फागुन । नेकपा एमालेसम्बद्ध पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले पनि ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
प्रेस चौतारी नेपालको केन्द्रीय समितिले आज बिहीबार राजधानीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी महिला दिवस मनाएको हो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकार महिलाको विकास र समानताका लागि चौतारीले पहलकदमी लिँदै आएको बताए । महिलाको समान सहभागिता तथा अवसरका लागि सहकार्यको आवश्यकता रहेको बताउँदै अध्यक्ष बस्नेतले सबै मिलेर मात्रै समतामुलक समाज निर्माण हुने धारणा व्यक्त गरे । सम्पत्तिमा महिलाको अधिकार स्थापित नहुँदासम्म महिलाहरूको कन्फिडेन्स वृद्धि हुन नसक्ने उनको भनाइ छ ।
यसैगरी, चौतारीका सल्लाहकार तथा नेकपा एमाले प्रचार विभागकी सदस्य निर्मला शर्माले सन् १९११ देखि अन्तर्राष्ट्रिय रूपमा मनाउन थालिएको श्रमिक महिला दिवस ११३औं वर्ष भइरहँदा पनि अझै नेपाली महिलाको अवस्थामा उल्लेख्य विकास हुन नसकेको बताएकी छिन् ।

अहिले पनि महिलाहरू निर्णायक तहमा पुग्न नसकेको चर्चा गर्दे उनले पत्रकार महिलाको अवस्थामा विगतमा भन्दा अहिले धेरै सुधार भए पनि अझै पारिश्रमिकमा विभेद, समयमा पारिश्रमिक उपलब्ध नहुँदा र अवसरको समान बाँडफाँट हुन नसकिरहेको धारणा व्यक्त गरिन् । नेपालमा महिलाका लागि प्रशस्तै ऐन, कानुन बने पनि त्यसको कार्यान्वय तथा महिलाको वास्तविक अवस्थामा भने अझै सुधार हुन नसकेको उनको भनाइ थियो ।
त्यसैगरी, चौतारीकी उपाध्यक्ष देविका घर्तीमगरले पत्रकार महिलाले पेशामा निरन्तरताको विषय लामो समयदेखि उठ्दै आए पनि अझै अवस्था उस्तै रहेको बताइन् । अझै पनि जागिरबाट निकालिने र समान पारिश्रमिक नपाउने अवस्थाबाट पत्रकार महिला गुज्रिरहेको उनको भनाइ छ ।
यस्तै, सञ्चारिका समूहकी महासचिव बसन्ती बास्तोलाले पत्रकार महिलाको समान अवसरका लागि अझै काम गर्नुपर्ने आवश्यकता औंल्याइन् भने पत्रकार कालिका खड्काले पत्रकार महिलाको समान क्षमता अभिवृद्धि र अवसरका लागि संगठनहरूले पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।















प्रतिक्रिया