२ कार्तिक २०८३, सोमबार

६७ महिनामा महिला हिंसाका एक लाख घटना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । डाक्टर श्रीमान पाएपछि महोत्तरी औराहीकी नेहा चौधरीको खुसीको सीमा थिएन । छोरीको भव्य भविश्य देखेर अभिभावक पनि फुरुङ्ग थिए । तर, उनीहरुको खुसी धेरै समय टिक्न सकेन । जब नेहाका श्रीमान डा. सुधिर चौधरीले दाइजोको बिषय उठाएर यातना दिन सुरु गरे ।

नेहाका परिवारले विवाहमा ५० लाख रुपैयाँ र २० तोला सुन दिएका थिए डा. सुधिरलाई । तर, उनलाई त्यतिले पुगेन । उनले नेहालाई मानसिक यातना दिन सुरु गरे । दुईबीचको विवाद चुलिँदै गयो । डा. चौधरी नेहामाथि कुटपिटमै उत्रिए । उनलाई साथ दिइरहेका थिए उनका परिवारले । हौसिएका उनी थप उग्र बन्दै गए । उनले नेहालाई घरबाट निकाले । अलपत्र बनेकी उनी न्याय माग्न अदालतसम्म पुग्नु पर्‍यो ।

तीजकै संघारमा गत १२ भदौमा कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–१ की २३ वर्षीया गीता जैसी (शाही) श्रीमान दानबहादुर शाहीबाट निर्घात कुटिइन् । नेकपा एमाले जिल्ला कमिटि कालिकोटका पार्टी कार्यालय सचिव रहेका दानबहादुरले घरमा श्रीमती हुँदाहुँदै गीतासँग अवैध सम्बन्ध राखेका थिए । यही क्रममा गीताको गर्भमा बच्चा बस्यो । स्थानीयको दवाबपछि उनले गीतासँग जब दोस्रो विवाह गरे, त्यही दिनदेखि उनले यातना दिन सुरु गरे ।

शुरुका केही वर्ष त उनले श्रीमानको कुटपिट चुपचाप सहिन् । भाग्यलाई दोष दिएर आफैलाई सरापिन् । तर, श्रीमानको यातनाले हद नाघ्यो । हुँदाहुँदा श्रीमानले उनलाई घरबाटै निकाले । सहनै नसक्ने अवस्था आएपछि उनी कानूनी उपचारका लागि प्रहरी कार्यालय जान बाध्य हुनु पर्‍यो ।

गत १६ जेठमा चितवन खैरहनी नगरपालिका–१० की ४० बर्षीया सरस्वती शर्मा (परिवर्तित नाम) श्रीमानबाट बलात्कृत मात्रै भइनन् निर्घात कुटपिटको शिकार पनि भइन् । रक्सीको नशामा श्रीमाले उनको गुप्तांग र मलद्धवारमा लौरो घुसारे । गुप्तांग क्षतविक्षत भयो । मलद्धवार फुटेर रगत बग्न थाल्यो । हार गुहारपछि स्थानीयले उनलाई उद्धार त गरे । तर, उनलाई बचाउन सकिएन । घाइते उनलाई उपचारका लागि भरपुर सरकारी अस्पताल लगिएको थियो । अत्याधिक रक्तश्रावका कारण उनको उपचारकै क्रममा मृत्यु भयो ।

बाँके खजुरा गापा–७ की ४९ बर्षीय सरिता शर्मा (परिवर्तित नाम) गत २५ बैशाखमा माइत जान भे १ च नम्वरको टेम्पो चढिन् । टेम्पोमा उनी एक्लो यात्रु थिइन् । एकान्त पुगेपछि चालकले टेम्पो रोके । खजुराकै सिमलघारीस्थित सडक किनारमा लगेर बलात्कार गरे । उनलाई धनौली इलाका प्रहरीले घटनास्थलबाट बेहोस अवस्थामा उद्धार गरेको थियो ।

भेरी अस्पताल लगिएका उनको उपचारपछि बल्ल होस खुलेको थियो ।

महिला हिंसासँग सम्बन्धितमाथिका केही प्रतिनिधी घटना मात्रै हुन् । यस्ता घटना प्रत्येक बर्ष बढिरहेका छन् । बिशेषगरी घरेलु हिंसाका घटना प्रत्येक बर्ष चुलिँदो अवस्था छ । नेपाल प्रहरीको पछिल्लो ५५ महिनाको तथ्यांक केलाउँदा मुलुकभर महिला हिंसा तथा महिलाविरुद्धका अपराध मात्रै एक लाख एक हजार ६ सय ८२ पुगेको देखिन्छ ।

नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता एसएसपी दिपेन्द्र जिसीले पनि पछिल्ला वर्ष महिला हिंसा तथा महिला विरुद्धका अपराध बढेको बताए ।

बिशेषगरी घरेलु हिंसाका घट्ना अस्वभाविक ढंगले बढेको देखिएको उनले बताए । चालु आव सात महिनाको तथ्यांक मात्रै हेर्दा पनि महिला हिंसाका घटना १० हजार ९ सय ८६ पगेको देखिन्छ । जसमध्ये घरेलु हिंसाका घटना मात्रै ८ हजार ६ सय १९ दर्ता भएका छन् ।