
काठमाडौं, २२ फागुन । नेकपा एमाले प्यूठान जिल्ला कमिटी सदस्य रामबहादुर थापा ‘गोपाल’ को निधनप्रति नेकपा एमाले केन्द्रीय कार्यालयले शोक व्यक्त गरेको छ ।
पार्टी महासचिव शंकर पोखरेलले आज सोमबार शोक विज्ञप्ति जारी गरी दु:ख व्यक्त गरेका हुन् । ‘जीवनभर राजनीतिमा सक्रिय गोपालको पार्टी कामकै सिलसिलामा निधन भएको घटनाले पार्टीपंक्ति मर्माहत भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको छ । कमरेड गोपालको योगदानलाई पार्टीले सधैं स्मरण गरिरहने छ ।’
एमालेले स्व. गोपालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका उनका श्रीमती, छोराछोरी र अन्य आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत उनलाई जिम्मेवारी तोकिएको स्थानीय तह प्युठानको सरुमारानी गाउँपालिका जाने क्रममा शनिबार माण्डवी गाउँपालिका–५ आँपचौरमा मोटरसाइकल दुर्घटनामा परी थापाको निधन भएको थियो ।
थापासँगै मोटरसाइकलमा सवार जिल्ला कमिटीकी सदस्य बसन्ता भुसाल सख्त घाइते भएकी छिन् । घाइते भइ उपचाररत भुसालको शीघ्र स्वास्थ्य लाभको कामना एमालेले गरेको छ ।















प्रतिक्रिया