३० आश्विन २०८३, शुक्रबार

टोखामा मिसन ग्रासरूट अभियान : विस्तारित बैठकसँगै मनाइयो सहिद दिवस

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरूट’अन्तर्गत आज काठमाडौंको टोखा नगरकमिटीले विस्तारित बैठक सम्पन्न गरेको छ ।

पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता, सचिव गोकर्ण विष्टको विशेष उपस्थिति र टोखा नगर कमिटीका अध्यक्ष सत्यनारायण डंगोलको अध्यक्षतामा बैठक सम्पन्न गरिएको हो ।

मिसन ग्रासरूट अभियानअन्तर्गत बागमती प्रदेशका संयोजकसमेत रहेका उपाध्यक्ष पाण्डेले मिसन ग्रासरूटमार्फत वडादेखि केन्द्रसम्म सुधार गर्न आवश्यक रहेकाले सबैलाई अभियानमा केन्द्रित हुन आग्रह गरे । उनले नेपालमा लोकतन्त्र प्राप्तीका लागि भएका विभिन्न आन्दोलनकै एउटा महत्वपूर्ण हिस्सामा ‘सुखानी हत्याकाण्ड’ भएको बताउँदै त्यसबेला ज्यान गुमाउने पाँचजना सहिदहरू नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठप्रति सम्मान अर्पण गरे ।

यस्तै उनले परिवर्तनका लागि नेपालमा भएका अन्य विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुप्रति पनि श्रदाञ्जली अर्पण गरेका छन् । सहिदहरूको सपना पूरा गर्ने जिम्मेवारी सबै नेपालीको रहेको बताए ।

यसैबीच, पार्टी सचिव तथा मिसन ग्रासरुटअन्तर्गत बाग्मती प्रदेश अनुगमन समितिका संयोजक गोकर्ण बिष्टले सहिदहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै पार्टी कमिटीमा संख्या धेरै र गुणस्तर कम रहेकोले मिसन ग्रासरुटअन्तर्गत पार्टीको सांगठनिक प्रक्रियालाई सुदृढ, व्यवस्थित र चलायमान गर्ने बताए ।

पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने, पार्टीमा भएका समस्या पहिचान गरि पार्टीलाई सशक्त रुपमा चलायमान बनाउन मिसन ग्रासरूटको लक्ष्य रहेको धारणा व्यक्त गरे । कार्यक्रममा सहिद नेत्र घिमिरेकी छोरी कल्पना घिमिरेले सहिद परिवारको अवस्था अत्यन्तै नाजुक रहेकोले शहिदका परिवारका लागि पनि पार्टीले केही योजना बनाएर अगाडि बढनुपर्ने बताए । नगर कमिटी अध्यक्ष डंगोलले सम्पूर्ण नगर कमिटीका सदस्यहरुलाई आ–आफ्नो वडामा खटिएर काम गर्न र रिर्पोटिङ गर्न आग्रह गरे ।