
काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले छरिएर रहेको माओवादीहरू एकजुट बन्नुपर्ने बताएका छन् ।
‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशन’ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले सके पार्टी एकता नसके पनि कार्यगत एकता गरेर माओवादीहरू एकजुट भएर नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका सबै धारलाई एक ठाउँमा आउन आह्वान गरेका छन् ।
जनयुद्ध र मुलुकको परिवर्तनपछि आफूलगायत यसका घटकहरु राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको भन्दै अब एक ठाउँमा केन्द्रित हुने समय आएको बताए । उनले जनयुद्धका पक्षघरहरु एकै ठाउमा आउन सके कुनै शक्तिले कमजोर बनाउन नसक्ने जिकिर गरेका छन् ।
प्रचण्डले माओवादीविरुद्ध निरन्तर षड्यन्त्र भइरहेकाले आफ्ना तर्फबाट भ्रम चिर्न आग्रह गर्दै वर्तमान सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको तथा सहिद घोषणाका लागि राजपत्रमा सूचना प्रकाशित गर्नेलगायत निर्णय गरेपछि केहीलाई सह्य नभएको उल्लेख गरे ।
त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास भइरहेको बताए । उक्त प्रयासलाई रोक्न माओवादी घटकहरू एक ठाउँमा आउनुपर्ने भट्टराईको भनाइ छ । माओवादी घटकहरूले एकता गर्न नसकेपछि कार्यगत एकता जरुरी रहेको धारणा उनको छ ।
एउटा बहालवाला प्रधानमन्त्रीलाई तीन वर्षअघिको कुरालाई दिएर मुद्दा लगाएर निहुँ खोज्ने काम भएको बताउँदै अध्यक्ष भट्टराईले अब एकतामा जाँदा माओवादी शब्द राख्न आवश्यक नरहेको सुझाव व्यक्त गरे ।
त्यस्तै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले पनि जनयुद्धका घटकहरुलाई विभिन्न बहानामा राज्यबाट अपमान र पीडा दिइरहेको बताए । सहिद परिवारको अवस्था नाजुक भएको, बेपत्ताको अवस्था सार्वजनिक हुन नसकेको अवस्थामा राज्य गम्भीर हुनुपर्ने उनले बताए ।
त्यस्तै अन्य नेताहरुले यसअघिको माओवादी आन्दोलनलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।















प्रतिक्रिया