
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् ।
सिंहदरबारमा आइतबार बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्तिलगायत विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताएका हुन् ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय क्षेत्र र लघुवित्तसमेतका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए । उनले आवश्यक परे समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउन पनि तयार रहेको जानकारी दिएका छन् ।
बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैंकिङ क्षेत्रका प्रतिनिधिहरुले अहिलको अवस्थामा बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझावहरु दिएका थिए ।
बैठकपछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको समस्याका बारेमा प्रधानमन्त्रीले चासो व्यक्त गरेको जानकारी दिदै अहिले ऋण नतिर्ने व्यवसायीको नियत नभएको भन्दै उच्च व्याजदर लगाएतका कारण व्यवसायमा परेको असरका बारेमा जानकारी गराएको बताए ।
उनले सरकारबाट ऋण तिर्नका लागि केही समय र सहुलियत दिनुपर्ने र यसमा राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने सुझाव दिएको जानकारी दिए । अहिले खराब कर्जाका कारण मुलुकको आर्थिक व्यवस्थामा नै असर पर्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ ।
बैठकमा सबै पक्षले अहिले समस्या समाधान नै जोड दिएको गोल्छाले जानकारी दिए । उनले लघुवितमा भएको आक्रमणमा निजी क्षेत्रको कुनै संलग्नता नरहेको स्पष्ट पारे ।















प्रतिक्रिया