
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका सबै समूह र धारलाई एक ठाउँमा आउन आह्वान गरेका छन् ।
जनयुद्धकालीन माओवादी नेताहरु डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, धर्मेन्द्र बाँस्तोलालगायत नेताहरु उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादी आन्दोलनका सबै समूहलाई पार्टी एकतामा आउन आग्रह गरेका हुन् ।
माओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म मनाउँदै आएको सहिद सप्ताहको आज अन्तिम दिन ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशन’द्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उनले माओवादी आन्दोलन कमजोर नभए पनि विभिन्न धार र भङ्गालामा बाँडिएपछि प्रभाव घटेका कारण पुन: एकताबद्ध हुनुपर्ने आवश्यकता आँैल्याए ।
वर्तमान सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको तथा सहिद घोषणाका लागि राजपत्रमा सूचना प्रकाशित गर्नेलगायत निर्णय गरेपछि केही शक्तिलाई सह्य नभएको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले यतिबेला चर्को बोल्ने भन्दा पनि काम गर्ने समय भएको जिकिर गरे ।
‘सरकारका तर्फबाट जनयुद्ध, जनआन्दोलन र त्यस आन्दोलनमा सहादत प्राप्त गर्ने सहिद र बेपत्ता योद्धालाई सम्मान गर्ने काम एकपछि अर्को गर्दै अघि बढेको छ । त्यसमा प्रतिक्रियावादी आतङ्कित भएका छन् । तिनीहरु फेरि एक पटक माओवादीसँग तर्सिएका छन् । माओवादीका नाममा तथानाम गालीगलौज गर्न थालेका छन्,’ प्रचण्डले भने ।
सबै माओवादी एक ठाउँमा उभिएर जनतालाई अपिल गर्ने, सहिद तथा बेपत्ताको सपना र भावनालाई पूरा गर्ने सङ्कल्प गर्ने हो भने त्यो विजयको दिन हुने प्रधानमन्त्री दहालको भनाइ थियो ।















प्रतिक्रिया