
काठमाडौं, २० फागुन । नेकपा (एकीकृत समाजवादी) निकट स्थानीय तह कर्मचारी संघ नेपाल नेकपा एमालेको जनसंगठन पेशागत महासंघ नेपालमा समाहित भएको छ ।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज शनिबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संघका अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतका पदाधिकारीहरूलाई खादा र टीका लगाई स्वागत गरे ।
सो अवसरमा अध्यक्ष ओलीले पुरानै घर नेकपा (एमाले) मा फर्किएर अत्यन्तै सही निर्णय गरेको र पार्टीमा सबैले विनाभेदभाव काम गर्ने अवसर पाउने बताएका छन् । उनले प्रतिफल ल्याउने गरी अनुशासित र योजनाबद्ध सक्रियता प्रदर्शन गर्न सबैलाई आग्रह गरेका छन् ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका लेखा परीक्षण आयोगका सचिवसमेत रहेका संघका अध्यक्ष श्रेष्ठले स्थानीय तह कर्मचारी संघ, नेपाल नेकपा एमालेको जनसंगठन पेशागत महासंघ नेपालमा समाहित भएको घोषणा गरे ।
अध्यक्ष श्रेष्ठले नेकपा एकीकृत समाजवादीमा दिनप्रतिदिन स्खलन हुँदै दक्षिणपन्थी भासतर्फ अगाडि बढिरहेकाले आफूहरू नेकपा एमालेमै फर्किएको बताए । गएको निर्वाचनमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धा गरेको भए नेकपा एमालेले बहुमत ल्याउने अवस्था रहेको तर नेकपा एसमा रहेर नेपाली काँग्रेसलाई ठूलो पार्टी बनाउने काम गर्नुपरेकोमा ग्लानी महशुस भएको उनको भनाइ छ ।
कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव बिष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकालको उपस्थिति थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पेशागत महासंघ नेपालका अध्यक्ष बाबुराम थापाले महासंघमा समाहित स्थानीय तह कर्मचारी संघ, नेपालका पदाधिकारी तथा सदस्यहरूलाई स्वागत गरे ।















प्रतिक्रिया