
काठमाडौं, २० फागुन । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि विश्वासको मत नदिने भएको छ ।
पार्टीले उठाउँदै आएको माग पूरा गर्न लिखित सहमति नभएसम्म सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जानकारी दिइन् ।
प्रदेश सभामा ७ सीट रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएकै कारण यसअघि नेकपा एमाले नेतृत्वको सरकार ३० दिनमै ढलेको थियो । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि सुदूरपश्चिममा अहिले कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् ।
मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । तर, उनले पनि विश्वासको मत नपाउने सम्भावना बढ्दै गएको छ । केन्द्रमा कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्तिलगायत दलको समीकरण बनेपछि प्रदेशमा शाहले विश्वासको मत पाउने लगभग निश्चित छ, तर नागरिक उन्मुक्ति पुरानै एजेण्डामा अडिग रहेपछि उनले पनि विश्वासको मत पाउने सम्भावना न्यून बन्दै गएको छ ।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । प्रदेश सभामा अहिले देखिएका सत्ता पक्षमा कांग्रेसका १९, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ जना सदस्य छन् । तर, नागरिक उन्मुक्तिले सहयोग नगर्नेवित्तिकै शाहले विश्वासको मत पाउने छैनन् ।
यस्तै, सत्ताको विपक्षमा एमालेका १०, माओवादीका १० र राप्रपाको १ गरी २१ मत छ । केन्द्रमा सत्तापक्ष भए पनि सुदूरपश्चिममा आफूहरू प्रतिपक्ष दल भएका कारण सरकारलाई विश्वासको मत दिन नसक्ने माओवादीले बताउँदै आएको छ ।















प्रतिक्रिया