
काठमाडौं, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सोसल मिडिया र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगतमा हाबी हुन बुद्धिजीवीहरूलाई आग्रह गरेका छन् ।
एमालेनिकट बुद्धिजिवी परिषद्को केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले आजको सोसल मिडिया र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगतमा हाबी हुन बुद्धिजीवीहरुलाई आग्रह गरेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एमालेनिकट बुद्धिजीवीहरु संगठित ढंगले प्रतिवादमा नउत्रिएका कारण सामाजिक सञ्जाल र मिडियाहरूमा एमालेप्रति नकारात्मक विचार राख्ने समूह हाबी भएको बताए । ‘पढ्ने कुराबाट ज्ञान आर्जन हुन्छ, लेख्ने कुराबाट ज्ञान व्यवस्थित हुन्छ । त्यसैले तपाईहरु लेख्न थाल्नुस् । तपाई हाम्रा विचारबाट उनीहरु आत्तिनुपर्छ,’ ओलीले भने, ‘हाम्रा विचारबाट उनीहरुले खतरा महशुस गर्नुपर्छ । विपक्षीलाई खतरा महसुस हुनु, उल्टो विचार र बुद्धि भएकालाई खतरा पैदा हुनु स्वाभाविक हो ।’
अध्यक्ष ओलीले एमालेनिकट बुद्धिजिवीहरुलाई तयारीका साथ संगठित भएर गलत विचारविरुद्ध सही विचार प्रवाह गर्न थालिहाल्न आग्रह गरे । त्यसो गर्दा नकारात्मक कमेन्ट आए भने आफू सही ठाउँमा छौं भन्ने बुझ्नुपर्ने ओलीको भनाइ छ ।















प्रतिक्रिया