३० आश्विन २०८३, शुक्रबार

कोशी प्रदेश नामाकरण गरिनु संघीयताको मर्मविरीत : फोनिज

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले प्रदेश नं. १ को नाम ‘कोशी’ राखिनु संघीयताको मर्मविपरीत भएको बताएको छ ।

सभ्यता, संस्कृति, जातीय पहिचान र राजनीतिक ऐतिहासिकता आदिले अत्यन्त संवेदनशील प्रदेश नम्बर १ को नामाकरण ‘कोशी’ राखिनु संघीयताको मर्मविपरीत भएको महासंघको ठहर छ ।

बलपूर्वक सडकमा निषेधाज्ञा जारी गरेर ‘कोशी प्रदेश’ कायम गरिएकोप्रति शनिबार संगठनको धारणा सार्वजनिक गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘यो प्रदेश किरात सभ्यताको विरासत हो भने लिम्बुवानको ऐतिहासिक राजनीतिक पृष्ठभूमिसहित गर्विलो इतिहासको निरन्तरता हो । त्यसैगरी यो प्रदेश कोच सभ्यता र हिमाली संस्कृति सहितको शेर्पालुङ पहिचानको थलो पनि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशका आम जनताको भावना र चाहनाविपरीत र खासगरी रैथाने आदिवासी जनजाति समुदायको पहिचान प्राप्तिको मर्ममाथि निर्मम प्रहार गरेर जुन रवैयाका साथ कोशी प्रदेश नामाकरण गरिएको छ, फोनिज संघीय समिति यस कदमको घोर निन्दा र भर्त्सना गर्दछ ।’

कोशी नदीलाई कुनै पहिचान नचाहिएको भन्दै फोनिजले पहिचानको प्रदेश माग्ने समुदाय, राजनीतिक समूह र सरोकारवालाहरूसँग कुनै परामर्शसमेत नगरी मतादेशको दम्भमा जारी गरिएको कोशी प्रदेशले प्रदेश नम्बर १ को जनजीवन र प्रदेशवासीहरुबीचको आपसी एकता र हार्दिकतालाई खलल पुग्ने फोनिज संघीय समितिले ठहर छ ।

‘यो कालान्तरमा बिखण्डनको बीउका रूपमा अंकुराउन सक्छ भन्ने हाम्रो गम्भीर आशंका हो,’ विज्ञप्तिमा उल्लेख छ । फोनिजले बारम्बार प्रदेश नम्बर १ को नामाकरण सभ्यता, पहिचान र ऐतिहासिक निरन्तरताका आधारमा किरात–लिम्बुवान वा लिम्बुवान–किरात हुनु पर्दछ भनेर माग गर्दै आएको पनि स्मरण गराएको छ ।

पहिचान प्राप्तिका लागि हुने र गरिने शान्तिपूर्ण आन्दोलनहरूमा फोनिजको सदा ऐक्यबद्धता रहँदै आएको बताउँदै कोशी प्रदेश खारेजी र पहिचानका आधारमा प्रदेश नम्बर १ को पुन: नामाकरणका लागि भइरहेका सबै शान्तिपूर्ण आन्दोलनहरूमा फोनिजले समर्थन रहने महासचिव मिलन लिम्बुले जानकारी दिए ।