३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपति निर्वाचनका लागि यी पार्टीसँग एमालेले माग्यो मत, कस्तो छ प्रतिक्रिया ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेकपा (एमाले) ले राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा शुक्रबार थप तीन राजनीतिक दलसँग मत मागेको छ ।

एमालेले हिजो लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग मत मागेको हो ।

ती पार्टीका कार्यालयमा गई एमालेले आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई मत मागेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ्, सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य ठाकुर गैरसहित नेता सहभागी थिए ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सिके रावतलाई भेटी उनीहरूले मत मागेका छन् । त्यसअघि बिहीबार पनि एमालेले राष्ट्रपतिका उम्मेदवार नेम्बाङलाई मत माग्नका लागि नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग मत मागेको थियो ।

यही फागुन १७ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई भेट गरी राष्ट्रपतिमा नेम्वाङलाई मत मागेका थिए ।

यसअघि एमालेले नेपाली कांग्रेसबाहेक अन्य दलसँग आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका नेम्वाङलाई मत माग्दै पत्राचार गरेको छ । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलको उम्मेदवारी परेको छ ।

दलहरूसँगको भेटपछि प्रतिक्रिया दिदै पार्टी सचिव योगेश भट्टराईले राजनीतिक दलहरू नेकपा एमालेका उम्मेदवारप्रति सकारात्मक रहेको पाइएको बताए । उनले ह्वीप नलाग्ने राष्ट्रपति निर्वाचनमा एमालेका बहुगुणी उम्मेदवार नेम्वाङकै पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

यसैबीच नेम्वाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरेर आफूलाई मतदान गर्न र गराउन आग्र गरेका छन् ।

नेम्वाङसँगको भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिका लागि नेम्वाङको उम्मेदवारी न्यायोचित रहेको बताउँदै संविधान र कानून बुझेको तथा संविधान निर्माणमा अग्रसर रहेकाले राष्ट्रपतिका लागि उहाँ नै उपयुक्त हुने धारणा व्यक्त गरेको सचिव भट्टराईले जानकारी दिएका छन् । नेम्वाङ र दाहालबीच राष्ट्रपति निर्वाचनबारे सकारात्मक कोणबाट छलफल भएको सचिव भट्टराईको भनाइ छ ।