३० आश्विन २०८३, शुक्रबार

एमालेले तीव्र पार्‍यो ‘मिसन ग्रासरुट’ अभियान, यस्ता छन् आजका गतिविधिहरू

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । नेकपा एमालेले पार्टीलाई थप बलियो र सुदृढ बनाउने उद्देश्यअनुसार फागुन ५ गतेदेखि सुरू गरेको पार्टी सुदृढीकरण तथा विस्तार ‘मिसन ग्रासरुट’ अभियानलाई झन्–झन् तीव्र पार्दै लगेको छ ।

अभियानलाई लिएर पार्टीका केन्द्रीय तहका नेताहरू अहिले गाउँ–गाउँमा पुगेका छन् । उनीहरूले पार्टीलाई बलियो बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् भने थप कार्यक्रम सञ्चालनका विभिन्न रचनात्मक कार्ययोजनाहरू निर्माण पनि गरेका छन् ।

अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?

काठमाडौं

नेकपा एमालेकाले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार ‘मिसन ग्रासरुट’ अभियान काठमाडौंको चन्द्रागिरि नगरपालिकामा आजदेखि सुभारम्भ गरिएको छ ।

पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता र नगर कमिटीका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा नगरकमिटीको आठौं पूर्ण बैठक तथा मिसन ग्रासरुट अभियान कार्यक्रम आयोजना गर्दै नगरपालिकाले अभियान सुरू गरेको हो ।

बैठकले अभियानअन्तर्गत सञ्चालन गरिने विभिन्न कार्यक्रमहरूको कार्ययोजना तयार पारेको छ । बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य नवीना लामासहित प्रदेश कमिटी र जिल्ला कमिटी तथा विभिन्न संगठनहरूमा आवद्ध नेताहरूको सहभागिता थियो ।

रामेछाप

पार्टी सुदुढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अभियानअन्तर्गत नेकपा एमाले रामेछापले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप नगरपालिकामा नगर कमिटीको बैठक सम्पन्न भएको छ । पार्टी सचिव गोकर्ण विष्टको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष रोशन पाख्रिनको अध्यक्षतामा बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन भएको हो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव विष्टले नेपाल राजनीतिक र आर्थिक हिसाबले निक्कै जटिल मोडमा रहेको बताउनुभयो । अहिले नेपाल सधैँ अरूको निर्भरतामा रहोस् भन्ने चाहना राख्नेहरू बलशाली भएका बताउदै उहाँले राजनीतिक अस्थिरतालाई परास्त गर्दै मुलुकमा सामाजिक न्याय सहितको समृद्धि चाहिएको उहाँले बताउनु भयो । अहिलेको निर्वाचन प्रणालीले एउटा पार्टीले बहुमत प्राप्त गर्ने अवस्था निक्कै चुनौतीपूर्ण रहेको बताउँदै उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा छेपारो जस्तो छिनको छिन रङ्ग फेर्ने चरित्र रहेको बताउनुभयो ।

प्रचण्डको चरित्रले अहिले बनेको गठबन्धन पनि लामो समयसम्म जाने अवस्था नरहेको उहाँले बताउनुभयो । नेकपा एमालेले लिएको समृद्ध नेपाल निर्माण अभियानको लागि नेकपा एमाले बलियो पार्टी बन्नु पर्ने विष्टले बताउनुभयो । त्यसैको लागि पार्टीले ग्रासरुट अभियान सुरु गरेको सचिव विष्टले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य निरु दर्लामीले एउटै पार्टी भित्र एउटाको कुरा अर्काले नसुन्ने परम्परा यो अभियानले अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सम्पर्क सल्लाहकार सदस्य प्रा.डा.ऋषिराम शर्मा, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य राजकुमार श्रेष्ठ, वाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेल, पार्टी जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठ लगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।

स्याङ्जा

मिसन ग्रासरूट अभियानअन्तर्गत स्याङ्जाको गल्याङ नगर कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी सचिव पद्माकुमारी आर्यालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा सचिव अर्यालले अभियानबारे चर्चा गर्दै दक्षिणपन्थी अवसरवाद, सांगठनिक अराजकता र अनुशासनहिनता विरुद्धको वैचारिक संघर्ष पार्टीको कार्यनीति रहेको बताउनुभयो ।

पछिल्लो राजनीतिक घटनाक्रमको चर्चा गर्दै सचिव अर्यालले प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घर न घाटको हुने दिन आउन धेरै समय नलाग्ने विचार व्यक्त गर्नुभयो ।

सिन्धुपाल्चोक

मिसन ग्रासरूट अभियानअन्तर्गत सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पालिकास्तरीय भेला सम्पन्न भएको छ । बिहीबार पार्टी स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको प्रमुख आतिथ्यता र कमिटी अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

भेलामा केन्द्रीय प्रतिनिधिका रूपमा खटिुनभएका केन्द्रीय कमिटी सदस्य माधव ढुंगेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो । भेलामा प्रमुख अतिथि स्थायी कमिटी सदस्य तामाङ, माधव ढुंगेल र पालिकामा प्रदेश प्रतिनिधिका रूपमा खटिनुभएका हस्त पण्डितले प्रशिक्षण दिनु भएको थियो । भेलाले वडास्तरमा जाने कार्ययोजना बनाउनुको साथै गर्ने कामको विषयमा कार्ययोजना बनाएको छ ।

चितवन

 मिसन ग्रासरूट अभियानअन्तर्गत चितवनको रत्ननगर नगरपालिकामा नेकपा एमाले नगरकमिटीको बैठक सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधि पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यता र नगर कमिटीका अध्यक्ष ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

पोलिटब्यूरो सदस्य बाँस्कोटाले पार्टीको जरासम्म र जनताको घरसम्म पुग्ने गरी अभियान सुरू गरेको बताउदै स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा पार्टीले अपेक्षाकृत जित निकाल्न नसक्नु र पार्टीलाई मजबुत एवं एकताबद्ध बनाउने अभियानको उद्देश्य रहेको बताउनु भयो ।

अभियानले एमालेलाई पुरानै अवस्थामा फर्काउने विश्वास व्यक्त गर्दै उहाँले एमाले कमजोर भयो भने राष्ट्रियता कमजोर हुन बताउनुभयो । पूराना नेताको साथ र युवाको क्रियाशीलताले मात्र पार्टी बलियो हुने बताउनुहुँदै बास्कोटाले एकता, संघर्ष र रूपान्तरणले मात्र पार्टी चलायमान हुने र ग्रासरूट अभियानमा यही विषयलाई प्राथमिकता दिइने बताउनु भयो । कांग्रेस–माओवादी गठबन्धनले मुलुक र राष्ट्रियतालाई कमजोर बनाउने बताउदै उहाँले यसका लागि एमालेले खबरदारी गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य तथा पूर्वमन्त्री दावादोर्जे लामाले पार्टीभित्रका अन्तरविरोध समाधान गर्दै पार्टीलाई मजबुत बनाउन अभियान सुरू गरिएको बताउनुभयो । बैठकमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, सचिव शिवराज सुवेदी, नगर कमिटी उपाध्यक्ष पुष्पराज जोशी, नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक लगायत धारणा राख्नुभएको थियो ।

मकवानपुर

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेको वडा कमिटी बैठक बसेको छ । मिसन ग्रासरूट अभियानअन्तर्गत केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका पोलिट्ब्यूरो सदस्य पार्वत गुरूङको प्रमुख आतिथ्यता र कमिटी अध्यक्ष कुलप्रसाद त्रिपाठीको अध्यक्षतमा बैठक सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्नुहुँदै गुरूङले संगठन व्यवस्थापन गर्दै मुलुकको पहिलो र बहुमतको पार्टी बनाउन मिसन ग्रासरूट अभियान सञ्चालन गरिएको बताउनुभयो । परिवर्तित परिस्थितिअनुसार कामको कार्यशैली परिर्वतन हुनुपर्ने बताउनुहुँदै गुरुङले हरेक कार्यकर्ता उत्पादन र उद्यमशीलतासँग जोडिनुपर्ने बताउनुभयो ।

नुवाकोट

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत नुवाकोटको तादी गाउँपालिकामा पालिका कमिटी बैठक सम्पन्न भएको छ । केन्द्रबाट प्रतिनिधिका रूपमा खटिनुभएका केन्द्रीय कमिटी सदस्य माधव अर्यालको आतिथ्यता र पालिका कमिटीका अध्यक्ष शोभियतराज पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

बैठकमा अर्यालसहित जिल्ला कमिटी अध्यक्ष बद्री मैनाली, प्रदेश कमिटी सदस्य गोकर्णराज पाठक, प्रदेश कमिटीबाट जिम्मेवारी प्राप्त प्रदेश कमिटी सदस्य द्वय विजयसिं लोप्चन र उत्तम अधिकारी, जिल्ला कमिटी उप सचिव काशिराज अधिकारी लगायतका नेताहरूको सहभागीता रहेको थियो । बैठकले अभियान सञ्चालनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ ।

जसअनुसार जिम्मेवारी प्राप्त गरेका प्रतिनिधिहरूको उपस्थितिमा चैत्र २ देखि ११ गते सम्ममा वडा कमिटीको बैठक आयोजना गरी टोल कमिटीको बैठकको आयोजना गर्ने, पार्टी सदस्यता नवीकरण गर्ने, वडा तहमा जनसंगठन निर्माण गर्ने लगायत निर्णय गरिएको छ । यस्तै, तय गरिएका योजनाको समिक्षा र थप योजना निर्माणको साथै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने गरी चैत्र १८ गते गाउँपालिका कमिटी बैठकको आयोजना गर्ने निर्णय पनि भएको छ ।

लमजुङ

मिसन ग्रासरूट अभियानअन्तर्गत लमजुङको बेसीशहर नगरपालिकामा नेकपा एमाले नगर कमिटी बैठक बसेको छ । नेकपा (एमाले) केन्द्रीय सदस्य एवं बेसीशहर नगरपालिकाकी केन्द्रीय प्रतिनिधि मीनाकुमारी गुरूङको प्रमुख आतिथ्यतामा नगर कमिटी बैठक बसी आजबाट अभियान शुभारम्भ गरिएको हो ।

बैठकमा नेकपा (एमाले) लमजुङका अध्यक्ष कृष्ण अधिकारी, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य गोबर्धन गौली र नन्दराम विश्वकर्मा, प्रदेश कमिटी सदस्य गणेश पाण्डे, जिल्ला कमिटी उपाध्यक्ष यशोदा रिमाल लगायत नेताहरूको सहभागिता थियो । बैठकले वडा बैठक, जनसंगठनहरूको भेला बैठकसहित बिभिन्न कार्ययोजनाहरू तय गरेको छ ।

बैतडी/दार्चुला

नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ऐन महरले स्ववियु निर्वाचनका अनेरास्ववियु जिताउन अपील गर्नुभएको छ । बैतडी र दार्चुलाका क्याम्पसमा पुगेर उहाँले आगामी निर्वाचनमा अनेरास्ववियुको पक्षमा मतदान गर्न अपील गर्नुभएको हो । दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस र बैतडीको सेटिगाउ बहुमुखी क्याम्पसमा पुगेर महरले अनेरास्ववियुबारे विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का पूर्व केन्द्रीय अध्यक्षसमेत रहनुभएको महर एमालेले सुरू गरेको मिसन ग्रासरुटका लागि दार्चुलामा खटिनुभएको छ । अहिले महर लिपुलेक, लिम्पियाधुरा र कालापानीमा खटिनुभएको छ । मिसन ग्रास रुटसँगै उहाँले स्ववियु निर्वाचनमा अनेरास्ववियु जिताउन पनि अपील गर्नुभएको हो ।

नवलपुर

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत नवलपुर जिल्लाको बौदीकाली गाउँपालिकामा नेकपा एमाले गाउँकमिटीको बैठक सम्पन्न भएको छ । केन्द्रीय सदस्य भीम कार्कीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा एमाले केन्द्रीय लेखा आयोगकी सदस्य, पद्मा जीसी श्रेष्ठ, जिल्ला अध्यक्ष मुक्तिराम श्रेष्ठ लगायतका नेताहरू सहभागी हुनुहन्थ्यो ।

बारा

नेकपा एमालेको मिसन ग्रसरुट अभियानअन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१६ को वडा कमिटी बैठक सम्पन्न भएको छ । बैठकले ग्रासरुट अभियानलाई टोल टोलमा पुर्याउने निर्णय गर्नुका साथै फागुन २७ गते बृहत भेलाको आयोजना गर्ने भएको छ ।

बैठकमा प्रदेश कमिटी सदस्य किशोर शर्माले अभियान सफल बनाउन सबै लाग्नु पर्ने कुरामा जोड दिनु भयो । त्यसैगरी प्रदेश कमिटी सदस्य मनोज पौडेलले विदेशी चलखेलका कारण एमाले नेतृत्वको गठबन्धन परिवर्तन भएको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेशीको इसारामा चलेको बताउनुभयो । उहाँले सबै मिल्ला पनि एमालेलाइ हराउन नसकेका कारण सबै पार्टी एमालेसँग डराएको विचार व्यक्त गर्नुभएको छ ।

सरकारमा न भएता पनि समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा एमाले पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अभियानअन्तर्गत बाराका १६ वटै पालिकाको बैठक सम्पन्न भैसकेको छ भने वडा भेला तथा बैठक सुरु भएको छ । वडा बैठक तथा भेलाले टोल टोलमा कार्यक्रम सन्चालन गर्नेछ ।

पाँचथर

नेकपा एमाले फिदिमले सुखानी हत्याकाण्डको सम्झनामा पार्टीले मनाउँदै आएको सुखानी दिवस यस पटक सहिद परिवारका घरमा गएर मनाउने निर्णय गरेको छ । पञ्चायती दमनको विरुद्ध मोर्चा बन्दी गरेको आरोपमा पक्राउ परेका पाँच जना कम्युनिस्ट नेताहरूलाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१मा मा सुखानीको जङ्गलमा लगेर गोली हानि हत्या गरिएको थियो ।

तत्कालीन प्रशासनले नेत्र घिमिरे, कृष्ण कुइकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहालको हत्या गरिएको सम्झनामा एमालेले फागुन २१ गते सुखानी दिवसको रूपमा मनाउँदै आएको छ । पार्टीले सञ्चालन गरेको मिसन ग्रास रुट अभियानअन्तर्गत फिदिममा शुक्रबार बसेको योजना बैठकले पार्टीले सञ्चालन गरेका अभियानका क्रममा सहिद भएका फिदिम नगरपालिका क्षेत्रका सहिद परिवारका घरमा गएर सुखानी दिवस मनाउने योजना बनाएको एमाले केन्द्रीय सदस्य अमृता सुब्बाले बताउनुभयो ।

उहाँले सहिद परिवारको सुख दुख बुझ्न र पार्टीले बनाएको योजना सहिद परिवारसँग बाँड्न पार्टी सहिद परिवारको घरैमा जान लागेको बताउनुभयो । सहिदको बलिदानले उपलब्धि भए पनि पार्टीले सहिद परिवारलाई बिर्सिएको आलोचना भइरहँदा ग्रासरुट अभियानले पार्टी सहिद परिवारसँगै भएको अनुभूति दिलाउने उहाँले बताउनुभयो ।

बैठकले प्रदेश कमिटी सदस्य मेघराज घिमिरे, जिल्ला कमिटी सचिव विष्णु सापकोटा र जय प्रसाद केरुङ संयोजक रहने तीन वटा कमिटीसमेत गठन गरेको छ । कमिटीले पालिकाका सबै वडामा गएर सङ्गठन विस्तार, जनवर्गीय सङ्गठनको भेला, गठन र पूर्नगठन गर्नेछ । यस्तै प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने कार्ययोजना तय गरिएको छ ।

मोरङ

नेकपा एमालेले भूमिगत कालमा पार्टीका नेताहरूलाई सेल्टर दिने सेल्टर दाताहरूको विराटनगरमा खोजी अभियान शुरु गरेको छ । मिसन ग्रासरूट अभियानअन्तर्गत विभिन्न जिल्लाबाट विराटनगरमा आएर बसेका र पार्टीमा नजोडिएका सेल्टर दाताहरूको खोजी अभियान शुरु गरिएको एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले बताउनुभयो ।

धेरै जिल्लाबाट आएर विराटनगरमा आएर सेल्टरदाताहरू बस्नुभएको र उहाँहरू पार्टीमा नजोडिनुभएको पनि हुन सक्ने भन्दै अफ्ठेरो अवस्थामा सहयोग गर्नेहरूलाई पार्टीले सम्मान गर्ने उहाँले बताउनुभयो । उहाँले महानगर पालिकामा सबैभन्दा बढी कर तिर्नेहरूलाई पनि सम्मान गर्ने बताउनुभयो । यसका लागि पार्टीले बढी कर तिर्नेहरूको पनि नामावली सङ्कलन थालेको उहाँले जानकारी दिनुभयो । यस्तै, जेष्ठ नागरिक, राष्ट्रका लागि योगदान दिने विभिन्न क्षेत्रका नागरिकलाईसमेत सम्मान गरिने उहाँले बताउनुभयो ।

ग्रासरुट अभियानअन्तर्गत विराटनगर महानगरको वडा नम्बर ५ र १२ नम्बरमा विस्तारित भेला र प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ । अभियानअन्तर्गत कोसी प्रदेशका विभिन्न पालिकाहरूमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मोरङको सुन्दर हरैँचा नगरपालिकामा अखिल नेपाल महिला सङ्घका कार्यकर्ताहरूलाई प्रशिक्षण दिइएको छ ।

एमाले केन्द्रीय सदस्य मेनका काफ्ले, अनमेसंघ केन्द्रीय सदस्य धना तामाङ, एमाले सुन्दर हरैँचा नगरपालिकाका अध्यक्ष मातृका ढकाल, अनेम सङ्घ मोरङकी अध्यक्ष टीका भट्टराई चापागाईँले प्रशिक्षण दिनुभएको हो ।