
काठमाडौं, १९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्मानलाई व्यवसाय गर्ने माध्यम बनाउने प्रवृति बढ्दै गएको बताएका छन् ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भएको कार्यक्रममा उनले जोकोहीका लागि सम्मान पाउने विषय सहज नभएको बताए । उनले अन्तर्राष्ट्रिय तहमा सम्मान पाउन महिलाहरुले धेरै पसिना बगाउनु परेको चर्चा गरेका छन् ।
‘राम्रो कामको सम्मानले राम्रो काम नै गर्ने प्रेरणा मिल्छ । महिलालाई पछाडि पार्ने काम नगरौं,’ अध्यक्ष ओलीले भने, ‘सम्मान पाउन धेरै पसिना बगाउनु पर्छ । सबैले आ–आफ्नो क्षेत्रबाट सेवा दिइरहेका हुन्छन् । तर, सबैले सम्मान पाउन सकिरहेका हुँदैनन् ।’
सबै क्षेत्रबाट सम्मानयोग्य काम भएको र सम्मान क्षणभरको कामबाट नहुने हुँदा कडा संघर्ष गर्नुपर्ने ओलीको भनाइ छ । अध्यक्ष ओलीले कतिपय व्यक्तिले सम्मानको अर्थ नबुझेर ‘विजनेश’ गर्ने बाटो बनाएको टिप्पणी गरे । ‘सम्मान गर्न व्यापारीबाट ५० हजार लियो । अनि तीन चार हजारको एउटा सम्मान पत्र दियो । यो काइदा फाइदाको विजनेशको रुपमा आयो । सम्मानको बाहनामा विजनेश गर्ने प्रवृत्ति छ । यो गलत हो,’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने ।
सम्मान सधैंका लागि हुनुपर्ने र त्यस्ता सम्मान पाउन धेरै मेहनत गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा अध्यक्ष ओलीले ‘महिला पुस्तक’ सार्वजनिक गरेका थिए ।















प्रतिक्रिया