
काठमाडौं, १८ फागुन । नेकपा एमालेको पहल र सक्रियतामा अप्रत्याशित रूपमा प्रधानमन्त्री बनेका प्रचण्डले अप्रत्याशित रूपमै एमालेसहितको गठबन्धनलाई धोका दिए ।
आफूलाई प्रधानमन्त्री बनाउने गठबन्धनलाई दुई महिनामै धोका दिएर उनले चुनावअघिको पाँचदलीय गठबन्धन व्युँताएका छन् । गठबन्धन व्यँताउनुको मुख्य उद्देश्य नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनु हो । यसको पछाडि अन्तर्राष्टिय शक्तिहरूको दबाब र प्रभाव समेत छर्लङ्ग देखिएको छ ।
अन्तर्राष्ट्रिय शक्तिहरूको उद्देश्य भने नेपाललाई अस्थिरताको बाटोमा लैजानु हो । उनीहरूको उद्देश्य पूरा गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सक्रिय बनेको घटनाक्रमहरूले देखाएको छ । विगतमा ९ महिनाअघि नढल्ने सरकार अब दुई महिनाकै समयमा ढल्न थालेको छ । यो गम्भीर सङ्केत हो ।
गत पुस १० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपाली माटोबाट बनाएको’ भनिएको गठबन्धन दुई महिना पनि नटिक्नु राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय स्वार्थ हाबी हुनु हो । यसबाट देशलाई राजनीतिक अस्थिरताको भड्खालोमा हालेर अर्थतन्त्रलाई ध्वस्त पार्ने खेल सुरू भएको अनुमान समेत गरिएको छ ।
यसैबीच देशलाई सम्भावित दुर्घटनाहरूबाट बचाउन नेकपा एमालेले पुन: आफ्नो सक्रियता बढाएको समाचारहरू सार्वजनिक हुन थालेको छ । एमालेले प्रतिनिधि सभाका दुई ठूला दल एमाले र कांग्रेसको पहल र सक्रियता रअन्य केही दलहरूको समर्थनमा स्थिर सरकार बनाउनुपर्ने धारणा अगाडि सारेको छ । परिकल्पना गरिएको सत्तासमीकरण र सहकार्यबाट देशलाई विषम् परिस्थितिबाट जोगाउन सकिने एमालेका नेताहरूको धारण छ ।
एमालेका महासचिव शंकर पोखरेलले त फागुन २५ मा राष्ट्रपति चयन भएपछि मुलुकमा कांग्रेस नेतृत्वको सरकार निर्माण हुने अवस्था बनिसकेको दाबी गर्दै आफ्नो धारणाहरू सार्वजनिक गर्न थालिसकेका छन् । उनले संविधानको प्रावधानअनुसार नै कांग्रेसलाई सरकार निर्माण गर्ने अवसर प्राप्त भएको बताएका छन् ।
अनावश्यक रूपमा माओवादी बोकिरहनुपर्ने बाध्यता कांग्रेसलाई नभएको भन्दै उनले ठूलो दलको हैसियतबाट संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन गर्ने अवसर कांग्रेसलाई आइलागेको उनले बताएका छन् । एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिदै उनले भनेका छन्, ‘आफ्नो हातमा आएको सरकार छोडेर पुष्पकमल दाहालको आदेश मानिरहने कुरा कांग्रेसका लागि शोभनीय र बाध्उकारी अवस्था छैन ।’
यस्तै, नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पनि नेपाली कांग्रेससँग सहकार्य गर्न सकिने धारणा व्यक्त गरेका छन् । कांग्रेस तयार भए सहकार्यका लागि एमाले सकारात्मक रहेको समेत उनले बताएका छन् ।
एमाले र कांग्रेस आपसमा प्रतिस्पर्धी दल भए पनि मुलुकको परिस्थितिलाई दृष्टिगत गर्दै सत्ता सहकार्य गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । तर, कांग्रेस त्यो कुरामा तयार नरहेको बताउँदै उनले कांग्रेस नमान्दा राजनीतिक अस्थिरतासँगै मुलुक चरम आर्थिक समस्यामा फस्ने तथा अन्य धेरै दुर्दशाहरू आइलाग्ने विचार उनले व्यक्त गरेका छन् ।
तर, यसका लागि कांग्रेससँग सम्वाद अघि बढाएको वा नबढाएकोबारे यी दुवै नेताले स्पष्ट पारेका छैनन् । यदि कांग्रेससँग एमालेका नेताहरूले सार्वजनिक गरेको धारणा अनुसार सहकार्य हुने हो भने प्रचण्डले चाँडै नै प्रधानमन्त्रीको पद गुमाउने स्थिति सृजना हुने देखिन्छ । संवैधानिक रूपमा कांग्रेस एक्लैले पनि ठूलो दलको हैसियतबाट सरकार गठन गर्ने विन्दुमा राजनीति पुगेकाले घटनाक्रमहरू अझै विकसित हुँदै जाने देखिन्छ ।















प्रतिक्रिया