३० आश्विन २०८३, शुक्रबार

फागुन २६ पछिको प्रधानमन्त्री पुष्पकमल दाहाल कि शेरबहादुर देउवा ?

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणामलाई हेरेर नेकपा एमालेले अब मुलुक गम्भीर राजनीतिक अस्थिरतातर्फ जाने अभिव्यक्तिहरू बारम्बार सार्वजनिक गर्‍यो ।

निर्वाचनबाट सर्वाधिक लोकप्रिय मत पाए पनि संसदमा ठूलो दल बन्न नसकेपछि उसले आफू सरकारको दाबी नगरी जिम्मेवार र सशक्त प्रतिपक्षमा रहने निर्णय गरेको थियो ।

तर, सरकार निर्माणको सन्दर्भमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र तेस्रो दल नेकपा माओवादीबीच देखिएको तत्कालीन समस्याका कारण निर्वाचनअघिको पाँच दलीय गठबन्धन भत्किन पुग्यो । त्यसपछि विकसित राजनीतिक घटनाक्रमका आधारमा मुलुकमा सरकार बन्नै नसक्ने वा बने पनि धेरै समय नटिक्ने अवस्था सृजना भएपछि प्रतिपक्षको बाटो अँगाल्छु भन्ने एमालेले नै स्थिरताका लागि नयाँ सरकार गठनको सक्रिय पहल गर्‍यो ।

फलस्वरूप प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने कांग्रेसबाहेकका अधिकांश दलहरूलाई समेटेर एमालेले नयाँ गठबन्धन निर्माण गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएर मुलुकलाई स्थिरता प्रदान गर्ने सकारात्मक प्रयास गर्‍यो ।

जुन उद्देश्यका साथ एमालेले गठबन्धन निर्माण गरी प्रचण्डलाई प्रधानमन्त्री बनाएको थियो, त्यो दुई महिना पाँच दिन भन्दा बढी समय टिक्ट सकेन र अहिले प्रचण्ड एमालेलाई छोडेर पुन: कांग्रेससँगको सहकार्यमा अघि बढेका छन् । प्रधानमन्त्रीमा आफूलाई विश्वासको मत दिएकै कारण हौसिएका प्रचण्ड कांग्रेसको ‘ढोक्सा’मा सहजै परेका छन् र सम्भवत: अब उनको प्रधानमन्त्री पद पनि फागुन २६ र त्यसकै वरीपरीमात्रै रहने अनुमान सुरु भएको छ ।

यसअघि कांग्रेसले पहिलो साढे दुई वर्षे कार्यकाल आफूलाई र त्यसपछि माओवादीलाई दिइने भनी गरेको प्रस्ताव लत्याएर प्रचण्डले कांग्रेसलाई गम्भीर धोका दिए र आफू भने नेकपा एमालेसँग अकल्पनीय सहकार्य गरी प्रधानमन्त्री बने । यसबाट कांग्रेस प्रचण्डसँग चिढिएको छ । यस्तै, एमालेसँगको सहकार्य पाँच वर्षको हुने भनी सहमति गरेका उनै प्रचण्डले दुई महिनामै धोका दिएर एमालेलगायत अन्य दलहरूलाई समेत चिढ्याएका छन् ।

उनको अस्थिर राजनीतिक व्यवहारका कारण सत्ता गठबन्धनको सबैभन्दा ठूलो शक्ति नेकपा एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छोडिसकेका छन् । यसबाट प्रधानमन्त्री प्रचण्ड अहिले अल्पमतको सरकार चलाइरहेका छन् ।

र, सँगसगै अब उनको प्रधानमन्त्री पद समेत गुम्ने स्थितिमा पुगेको विश्लेषण गर्न थालिएको छ । कांग्रेसले प्रचण्डप्रति देखाएको माया अब धेरै दिन टिक्ने अवस्था नरहेको जानकारहरू दाबी गर्छन् । किनभने जता गयो उतै धोका दिदै हिड्ने र मुलुकलाई अस्थिरताको बाटोतर्फ डोहोर्‍याउने प्रचण्डको नियत सर्वत्र आलोच्य विषय बनिसकेका छन् । यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवामा छैटौँ पटक प्रधानमन्त्री बन्ने उत्कट इच्छा जीवितै छ । उनको त्यो इच्छा पूरा गर्ने मौका पनि नजिक आएकाले पनि उनको प्रधानमन्त्री पद गुम्ने खतरा बढेको हो ।

राजनीतिमा धोका र अपराध सामान्य हुने देखिदै आएको छ । घटनाक्रमहरूलाई नियाल्ने हो भने पनि अब धोका खाने पालो प्रचण्डकै देखिन्छ । आफू र आफ्नो पार्टी जोगाउन उनले चुनावमा कांग्रेसलगायत पाँच दलीय गठबन्धनसँग सहकार्य गरे । परिणामले उनलाई जता जे माग्यो त्यही पाउने र सत्ताको खेलमा प्रभावकारी भूमिकामा उभ्यायो तेस्रो दल बनाएर । त्यसैको फाइदा लिएर उनी अहिले प्रधानमन्त्रीमा विराजमान छन्, तर बोलीमा कहीँ पनि पक्का छैनन् ।

आफ्नो पार्टीको अस्तित्व जोगाउन मद्दत गर्ने कांग्रेस र एमालेलाई उनले पटक–पटक धोका दिइसकेका छन् । पछिल्लो चुनावपछि मात्रै पनि यो तीन महिनाको अवधिमा कांग्रेस र एमालेलाई धोका दिएर उनी आफूलाई ‘सुप्रिमो’ ठानिरहेका छन् ।

तर, संविधानले साथ दिएसम्म मौकाहरू सधैं आफ्नो पक्षमा रहँदैनन्, त्यो कुरा प्रचण्डले बुझेर वा नबुझेर हेक्का राख्न भ्याएका छैनन् । फलस्वरूप पुस २६ गते हुने राष्ट्रपति निर्वाचनपछि राजनीतिमा अर्को कोर्ष करेक्शन हुने अवस्था सृजना भएको छ । प्रचण्डलाई विश्वासको मत दिएर राजनीति आफ्नो पोल्टामा पार्न सफल बनेको कांग्रेसले आफूलाई यसअघि गम्भीर र निर्मम प्रकारको धोका दिएको स्मरणका साथ प्रचण्डसँग बदला लिने मनस्थिति बनायो सत्ताको नेतृत्व पनि पुन: कांग्रेसकै पोल्टामा आइपुग्ने निश्चित देखिन्छ ।

प्रचण्डले पटक–पटक दिएको धोका सम्झेर कांग्रेसले राष्ट्रपतिको निर्वाचन सकिएपछि कुनै वहाना बनाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने र संविधानको धारा ७६ (३) बमोजिम ठूलो दलको हैसियतबाट सरकार बनाउने सुनौलो परिस्थिति सृजना भएको छ । यसबाट शेरबहादुर देउवाको पुन: प्रधानमन्त्रधी बन्ने उत्कट इच्छा पनि सहजै पूरा हुने ढोका खुला देखिन्छ ।

त्यस्तो अवस्थामा धोका खाएको अर्को ठूलो दल नेकपा एमालेले कांग्रेसलाई साथ दिने प्रवल सम्भावना रहेको छ । संवैधानिक अनुकुलता र दलहरूको राजनीतिक चरित्रलाई दृष्टिगत गर्ने हो भने वर्तमान प्रधानमन्त्री प्रचण्ड घर न घाटको बन्ने दिन नजिकिएको सहज अनुमान लगाउन सकिन्छ । किनभने उनले जसरी अरुलाई धोका दिएका छन् त्यसैगरी उनलाई अन्य दल कांग्रेस र एमालेले निर्मम धोका दिने सम्भावना बलियो छ, जुन ‘अपराध’को बदला ‘अपराध’ भएर बराबरीको अवस्थामा पुग्नेछ । त्यस्तो अवस्थामा संसदमा ३२ सीट रहेको माओवादीको केही लाग्ने छैन ।

मुलुकको राजनीतिमा प्रचण्ड जबसम्म सत्ता र शक्तिमा रहन्छन् तबसम्म अस्थिरताले प्रश्रय पाइरहने बुझाइ राजनीतिक दलहरूमा मात्र नभएर आम जनतामा समेत परेको छ । एमालेलाई मुलुकमा स्थिरता कायम गरी विकास गरेर देशमा विकासे कामको नेतृत्व गर्ने हुटहुटी छ । तर, उसले भनेजस्तो आरामदायी सरकार पाएको छैन । यो परिस्थितिकाबीच राष्ट्रपति पद पनि कांग्रेसलाई हात लागिहाल्ने निश्चितता अझै छैन । किनभने यो चुनावका मतदाता कसैलाई पनि ह्वीप लाग्ने छैन । त्यसमाथि रामचन्द्र पौडेलमाथि भरोसा गर्ने कांग्रेसकै कमीका कारण पनि निर्वाचनको परिणाम सुवासचन्द्र नेम्वाङको पोल्टामा पर्ने सम्भावना पनि बलियो छ ।

परिणाम माओवादीले सोचेभन्दा फरक आयो भने नवनिर्मित आठ दलीय गठबन्धन यसैपति सङ्कटमा पर्ने र मुलुकमा फेरि नयाँ राजनीतिक कोर्ष परिवर्तन हुने सम्भावनाहरू बढ्दै गएका छन् ।