३० आश्विन २०८३, शुक्रबार

एमालेको ‘मिसन ग्रासरुट’ अभियान : आज दिनभर कहाँ के–के भयो ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत आज विभिन्न ठाउँमा विभिन्न कार्यक्रम भएका छन् ।

दैलेख/कालिकोट

नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत आज दैलेखको आठबीसकोट नगरपालिकामा नगरस्तरीय प्रशिक्षण तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । पार्टी केन्द्रीय सचिव एवम् प्रतिनिधि सभा सदस्य गोगेश भट्टराईको प्रमुख आतिथ्यतामा जिल्लाको राकममा कार्यक्रम सम्पन्न गरिएको हो ।

यस्तै, सोही अभियान अन्तर्गत सचिव भट्टराईले आज कालिकोटमा पनि ‘मिसन ग्रासरुट’ औपचारिक रुपमा शुभारम्भ गर्नुभएको छ । अभियान शुभारम्भ गर्दे उहाँले राजनितिक बेइमानीसँग एमाले मिल्न नसक्ने बताउँदै वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ राजनीतिक बेइमान मात्र होइन, दक्षिणपन्थी अवसरवादको एजेण्ड भएको आरोप लगाउनुभएको छ ।

पुस १० गते भएको सहमतिबाट भाग्ने र जनमुखी काम गर्ने एमालेका सरकारमा रहेका मन्त्रीलाई अपमान गर्ने प्रवृत्ति प्रचण्डले देखाएका कारणले आफुहरु सरकारवाट वाहिरिएको जानकारी कार्यकर्तालाई गराउनुभयो ।

कास्की

मिसन ग्रासरूटअन्तर्गत अखिल नेपाल महिला संघ पोखरा महानगर कमिटीको प्रथम सम्मेलन आज पोखरामा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन पार्टी केन्द्रीय कमिटीकी सचिव एवम् प्रदेश इञ्चार्ज पद्मा अर्यालले गर्नुभयो ।

सम्मेलनमा पार्टी स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी, पार्टी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह–इञ्चार्ज एवम् पोखरा महानगरका केन्द्रीय प्रतिनिधि मायानाथ अधिकारी, पार्टी केन्द्रीय सदस्य एवम् अखिल नेपाल महिला संघका नेता टुका हमाल, पार्टी जिल्ला कमिटीका उपाध्यक्ष तेजनारायण अधिकारी, अनेमसंघका नेताहरू सृजना शर्मा, प्रभा कोईराला र सुशीला पराजुलीलगायतले प्रशिक्षण दिनुभएको थियो । सम्मेलनले इन्दिरा तिवारीको नेतृत्वमा ७५ सदस्यीय पोखरा महानगर कमिटी चयन गरेको छ ।

प्रदेश–१

नेकपा एमालेले मिसन ग्रासरुट अभियानलाई प्रदेश १ मा तीव्र रूपमा अघि बढाएको छ । प्रदेश १ का १४ वटा जिल्लामध्ये ११ वटा जिल्लामा जिल्ला कमिटीको बैठक बसेर कार्ययोजना बनाइएको छ ।

मंगलबार र बुधबारसम्ममा १४ वटै जिल्लामा बैठक बसेर कार्ययोजना बन्ने नेकपा एमाले प्रदेश १ का इञ्चार्ज राजेन्द्र गौतमले जानकारी दिनुभयो । प्रदेश १ का १३७ वटा पालिकालाई ५२ वटा केन्द्र बनाएर अभियान सुरु गरिएको र हरेक केन्द्रको नेतृत्व केन्द्रीय सदस्यले गर्ने प्रदेश कमिटीका सचिव चिन्तन पाठकले जानकारी दिनुभयो ।

पालिकाहरूमा बैठक, पार्टी प्रवेश र रचनात्मक कामहरूको सुरुवात भइसकेको बताउँदै उहाँले प्रदेश १ मा पार्टीलाई मजबुत बनाउने गरी अभियान चलाइएको बताउनुभयो ।

मोरङ

मोरङका सबै पालिकामा मिसन ग्रासरुटअन्तर्गतका कार्यक्रमहरू सुरु भएका छन् । एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले केन्द्रले खटाएको सबै नेताहरू जिल्लामा आइपुग्नुभएको र मोरङलाई ८ वटा केन्द्र बनाएर मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । चार दिनअघि जिल्लास्तरीय अभिमुखीकरण गरी अभियान गाउँ पसेको उहाँको भनाइ छ ।

यसैबीच, मोरङको बुढीगंगा गाउँपालिकामा एमालेका पोलिट्ब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा सोमबार मिसन ग्रासरुट कार्यक्रम गरिएको छ । नेता भट्टराईले कार्यक्रममा मिसन ग्रासरुटको औचित्य र वर्तमान राजनीतिक अवस्थाबारे प्रष्ट पार्नुभएको थियो ।

रोल्पा

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत रोल्पाको थवाङ गाउँपालिकास्तरीय विस्तारित बैठक एवम् अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिट्ब्युरो सदस्य खेममान खड्काको प्रमुख आतिथ्यता र थवाङ गाउँपालिका कमिटी अध्यक्ष विनोद रोकाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा प्रदेश कमिटी सदस्यहरू मीना बुढा, विनोद बुढा, रामकुमार रोका र जिल्ला कमिटी उपाध्यक्ष विजयकुमार घर्ती पनि सहभागी हुनुहन्थ्यो । बैठकले ५ वटा समूह बनाएर यही फागुन १८ देखि २५ गतेसम्म वडामा पहिलो चरणका कार्यक्रमहरू सम्पन्न गर्ने निर्णय गरेको छ ।

म्याग्दी

मिसन ग्रासरुट अभियानअन्तर्गत नेकपा एमाले बेनी नगर कमिटीले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पोलिट्ब्युरो सदस्य मनाकुमारी जिसीको प्रमुख आतिथ्यता र नगर कमिटी अध्यक्ष नारायण जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सचिवालय सदस्य देवबहादुर घले, जिल्ला कमिटी अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, जिल्ला कमिटी सचिव सुरत केसी, जिल्ला कमिटी सचिवालय सदस्य एवम् निर्वाचन क्षेत्र (क) का संयोजक रामप्रसाद सुवेदी, जिल्ला कमिटी सचिवालय सदस्य मिना रामजालीलगायत नेताहरूको सहभागिता थियो ।

जुम्ला

नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ जुम्लाको तातोपानी गाउँपालिकामा पनि सुरू भएको छ । अभियान शुभारम्भको अवसरमा तातोपानी गाउँपालिका वडा नं. ८ का गोर्खबहादुर शाही नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

नेकपा एमाले जुम्लाले जिल्लाका आठ वटै स्थानीय तहमा ‘मिसन ग्रासरुट’ अभियान सुरू गरेको छ । अभियानका लागि पार्टी केन्द्रीय सदस्य रिजालसहित नगीन्द्र शाही, दक्षिणा शाही र केन्द्रीय प्रतिनिधि गेहेन्द्र दाहाल अबको डेढ महिना जुम्लामै रहनुहुने भएको छ ।

प्युठान

मिसन ग्रासरूटअन्तर्गत प्युठानको स्वर्गद्वारी नगरपालिका–६ को वडा कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य ईश्वरी जीएमको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष गुरूप्रसाद अधिकारीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा पार्टीका प्रदेश सचिवालय सदस्य तुलसीराम शर्मा, प्रदेश सदस्यहरू नेत्रबहादुर रोका, गोमा रेग्मी, जिल्ला सचिवालय सदस्य हिरामणि भण्डारी, नगर कमिटी अध्यक्ष रामप्रसाद श्रेष्ठ, सचिव भरत रावतलगायत नेताहरूको सहभागिता थियो ।

भेलाले कार्यविभाजन गरी भोलि बुधबारदेखि फागुन मसान्तसम्म प्रत्येक टोल र घरघरमा पुगी पार्टी र जनसंगठनको भेला र बैठक आयोजना गरी सदस्यता नवीकरण, संगठन सुदृढीकरण तथा विस्तार अभियानलाई अघि बढाउने निर्णय गरेको छ ।

कास्की

मिसन ग्रासरुट अभियानअन्तर्गत मंगलबार कास्कीको रूपा गाउँपालिका कमिटीको विस्तारित बैठक बसी विभिन्न निर्णय गरेको छ । केन्द्रीय सदस्य भगवती न्यौपानेको प्रमुख आतिथ्यता र गाउँपालिका कमिटी अध्यक्ष नीलकण्ठ रेग्मीको अध्यक्षतामा बसेको बैठकले ७ वटै वडामा भेला तथा प्रशिक्षण गर्ने, चैत्र १५ गतेभित्र सदस्यता नवीकरण र विस्तार गरिसक्ने, जनवर्गीय संगठनहरूको भेला गर्ने, फागुन २१ गते सहिद दिवसको अवसरमा पार्टीलाई योगदान गर्दै आउनुभएका अग्रजहरूको सम्मान गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले जनप्रतिनिधि र पार्टीबीच अन्तरक्रिया कार्यक्रम गर्ने र विभिन्न संघ संस्थाहरूका प्रतिनिधि, बौद्धिक एवम् प्रबुद्ध वर्गसँग छलफल गरी सुझाव लिने जस्ता कार्यक्रमहरू तय गरेको छ ।

तेह्रथुम

नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत आज तेह्रथुमको सदरमुकाम म्याङलुङमा विशेष कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका इञ्चार्च राजेन्द्र कुमार गौतमको प्रमुख अतिथ्यता र जिल्ला अध्यक्ष तेजमान कन्दङवाको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

पार्टीमा देखिएको बिसंगति, बेतिथि, स्थानीय तहमा देखिएको गुटगत राजनीति अन्त्य गर्दै दशौँ राष्ट्रिय महाधिवेशनले तय गरेको नारालाई सार्थक तुल्याउन अभियान कोशेढुंगा साबित हुने इञ्चार्ज गौतमले बताउनुभयो । उहाँंले टोल कमिटीदेखि केन्द्रीयस्तरसम्म पार्टीलाई एकढिक्का बनाईराख्नका लागि पार्टीप्रति इमान्दार हुनुपर्ने बताउनुभयो ।

यसैबीच, तेह्रथुमका स्थानीय पालिकाअन्तर्गत लालीगुराँस गाउँपालिकामा फागुन १३ गते र छतर गाउँपालिकामा फागुन १४ गते केन्द्रीय सदस्य विजय सुब्बाको प्रमुख आतिथ्यतामा र म्याङलुङ नगरपालिकामा फागुन १२ गते केन्द्रीय सदस्य यज्ञराज सुनवारको प्रमुख आतिथ्यतामा मिसन ग्रासरूटअन्तर्गतका कार्यक्रम सम्पन्न गरिएका छन् ।

सुनसरी

नेकपा एमाले सुनसरीले आगामी वैशाख ९ गतेसम्मका लागि मिसन ग्रासरुट कार्यक्रमको कार्ययोजना पारित गरेको छ । सोमबार पार्टी कार्यालय इनरुवामा बसेको बैठकले कार्ययोजना पारित गरेको जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

मिसन ग्रासरुटमा खटिनुभएका केन्द्रीय कमिटीका नेताहरू समेतको उपस्थितिमा भएको बैठकमा सुनसरीको अवस्था र पार्टीका विविध पक्षमाथि छलफल गर्दै कार्ययोजना पारित गरिएको छ । बैठकमा नेकपा एमालेका प्रदेश इञ्चार्ज राजेन्द्र गौतम, केन्द्रीय सदस्य मञ्जु चौधरी, प्रदेश अध्यक्ष तुलसी न्यौपानेले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गोरखा

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरुटअन्तर्गत गोरखाको धार्छे गाउँपालिका कमिटीको बैठक बसेको छ । बैठकले सम्पूर्ण वडाहरूमा परिचालन हुने कार्यकर्ताहरूको कार्यक्षेत्र विभाजन गरेको छ ।

बैठकले वडा नम्बर १ मा चैत ३ र ४ गते, २ मा ५ र ६ गते, ३ मा ७ र ८ गते, ४ मा ११ गते, ५ मा ९ गते, वडा नम्बर ६ मा चैत १४ र १५ गते तथा वडा नम्बर ७ मा चैत १३ र १४ गते प्रशिक्षण कार्यक्रम आयोजन ागर्ने निर्णय गरेको छ ।

यस्तै, जनसङ्गठनको संयुक्त भेला चैत ९ गर्ने तथा अभियान सफल बनाउन एउटा वडामा कम्तीमा तीन वटा टोल कमिटी गठन गर्ने र सबै जनवर्गीय सङ्गठनको पालिका कमिटी बनाउने निर्णय बैठकले गरेको छ ।

बाँके

नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तगृत नेपालगञ्ज उपमहानगरपालिकाको भेला सम्पन्न भएको छ । नेता भीम केसीको प्रमुख आतिथ्यता र पालिका कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भेलाले कार्यविभाजनसहित विभिन्न निर्णयहरू गरेको छ ।

कार्यक्रममा मुनिर खाँको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाहरूलाई स्वागतसमेत गरिएको थियो । कार्यक्रममा भीम केसी, विजया धिताल, किस्मत कुमार कक्षपती, डिल्ली विसीलगायत नेताहरूले प्रशिक्षणमुलक सम्बोधन गर्नुभएको थियो ।

मकवानपुर

मिसन ग्रासरूट अभियानअन्तर्गत मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका कमिटीको बैठक आज बसेको छ । बैठकले फागुन २८ गतेसम्म सबै वडा कमिटी बैठक बस्ने मिति तय गरेको छ । वडा कमिटीको बैठकबाट वडास्तरीय योजना बनाई कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको हो । अभियानलाई सफल बनाउन बैठकले जिम्मेवारीसमेत तोकेको छ ।

हुम्ला

मिसन ग्रासरूट अभियानअन्तर्गत हुम्लाको अदानचुली गाउँकमिटीको बैठक सम्पन्न भएको छ । बैठकले सदस्यता नवीकरण, वडास्तरीय बैठक राख्ने निर्णय गरेको छ । यस्तै, टोल कमिटीको गठन तथा पुर्नगठन गर्नेलगायत कार्ययोजना पनि बैठकले बनाएको छ ।