१ कार्तिक २०८३, शनिबार

‘प्रचण्ड दुर्योधन हुन्, उनी नेतृत्वमा रहुञ्जेल देश र जनताले दु:ख पाइरहन्छन्’

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । नेकपा (एमाले) की नेत्री एवम् निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको नेतृत्वमा रहुञ्जेलसम्म देश र जनताले दु:ख पाइरहने बताएकी छिन् ।

काठमाडौंमा आज आयोजित साक्षत्कार कार्यक्रममा उनले प्रधानमन्त्री प्रचण्डलाई महाभारतका दुर्योधनको जन्म हुँदा ज्योतिषले भनेजस्तै कुलंगारको संज्ञा समेत दिएकी छिन् ।

‘महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषले भनेका थिए– यो कुलंगार हो । यो रहुञ्जेलसम्म यसले परिवार पनि नाश गर्छ । देशलाई पनि नाश बनाउँछ । जनतालाई पनि नाश बनाउँछ । यसले पूरै देशलाई स्वाह बनाउँछ भनेको थियो । मलाई त त्यस्तो लागिरहेको छ जबसम्म प्रचण्ड नेतृत्वमा रहनुहुन्छ तबसम्म सबैको सपनामा चोट पुगिरहन्छ ।’

प्रधानमन्त्री प्रचण्डलाई धोकेबाजको संज्ञा दिदै उनले भनिन्, ‘प्रचण्ड उहाँको आफ्नो व्यवहारले धोकेबाज देखिनुभएको छ । अब प्रचण्डसँग हाम्रो सहकार्य हुँदैन् । हामी हिजो पनि एक्लै चुनाव लडेको हो । देशलाई अघि बढाउन एमाले एक्लै सक्षम छ ।’

हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएकी साहले आफ्नो पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर ठूलो गल्ती गरेको पनि बताएकी छिन् । ‘अब त उहाँको बुद्धि पलाउला भनेको त, प्रचण्डमा त्यस्तो देखिएन । सहिदका सपना पूरा होलान भनेको त उहाँ व्यक्तिगत स्वार्थ र काममा लाग्नुभयो ।’

उनले एमालेको सचिवालय बैठकबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय भएपछि आफूहरु हिजै सरकारबाट बाहिरिएको स्पष्ट पारिन् । उनले थपिन्, ‘हामी सेवकको भूमिका निर्वाह गर्छौं । प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्छौं । नीतिगत रुपमा आफ्ना कुरा राखेर अघि बढ्छौं ।’

उनले आफ्नो पार्टीले राष्ट्रपतिमा अघि सारेको सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित् रहेको दाबी गरेकी छिन् । ‘उहाँको व्यक्तित्व र क्षमताको हिसाबले, बोली, व्यवहार अनि वचन राम्रो छ । राष्ट्रपतिको भूमिकामा उहाँ सफल हुनुहुनेछ । हामी उहाँलाई सफल बनाउने प्रक्रियामा लागेका छौं । उहाँको जित सुनिश्चित् छ,’ साहले भनिन् ।