
काठमाडौं, १५ फागुन । नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिमिसन ग्रासरुट’ अन्तर्गत देशैभर विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् ।
विभिन्न जिल्लामा अभिमुखीकरणका साथै अभियानका निर्धारित कामलाई केन्द्रमा राखेर गतिविधि सञ्चालन गरिएको छ । अभियानको नेतृत्व गर्न केन्द्रीयस्तरका नेताहरू गाउँ–गाउँ पुगेका छन् ।
तनहुँ

पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरुटअन्तर्गत तनहुँ एमालेले पालिकास्तरका बैठक, भेला, प्रशिक्षण र सदस्य विस्तारलगायत कार्ययोजना तयार पारेको छ ।
आइतबार नेकपा एमाले केन्द्रीय सचिव एवम् प्रदेश इञ्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको जिल्ला कमिटीको सचिवालय बैठकले कार्ययोजना तयार पारेको हो । बैठकमा पार्टी पोलिटब्यूरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य कृष्ण पौडेल, विद्या भट्टराई, भगवती न्यौपाने, बालकृष्ण काउछा मगर, सीमा क्षेत्रीलगायत नेताहरूले अभियानको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
बैठकले फागुन १६ र १७ गते जिल्लास्तरीय प्रशिक्षण गर्ने, फागुन १९, २० र २१ गते पालिका बैठक आयोजना गर्ने, २५ गते जिल्ला सल्लाहकार कमिटीको प्रशिक्षण गर्ने र २६ गते जनसंगठन संयन्त्रको बैठक बसी अभियानको थप योजना बनाउने निर्णय गरेको छ ।
उदयपुर

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ का इञ्चार्ज राजेन्द्र गौतमले ‘मिसन ग्रासरुट अभियानअन्तर्गत सदस्यता विस्तार, नवीकरण, बैठक, अन्तरक्रिया, प्रशिक्षण, पार्टी सञ्चालनसम्बन्धी अनुशिक्षण, विकासका मोडालिटी, केन्द्रीय महाधिवेशनको कार्यदिशालगायत ११ वटा विषयवस्तु लिएर नेकपा एमाले जनताको घरघरमा पुग्ने बताउनुभएको छ ।
पार्टीले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानको सुरुवात गर्न उदयपुर पुग्नुभएका गौतमले जारी अभियानबाट पार्टी संंगठन सुदृढीकरण, वैचारिक स्पष्टता, कमिटी चुस्तदुरुस्त र पार्टीभित्रको अन्तरविरोधको अन्त्य हुने विश्वास उहाँको छ । यस क्रममा पार्टीले जनतासँग प्रत्यक्ष संवाद गर्ने समेत उहाँले बताउनुभएको छ ।
अभियानहरू सञ्चालन नहुँदा पार्टी संगठन, नेता, कार्यकर्तामा वैचारिक स्खलन आउँदै गएको, संगठनका आधारस्तम्भहरू भत्किँदै गुटगत र अराजक प्रवृत्ति मौलाउँदै गएकाले सबैखाले समस्याको समाधान गर्न अभियान सञ्चालन गर्नु परेको गौतमको भनाइ छ ।
गोरखा

नेकपा एमालेको मिसन ग्रासरूट अभियानअन्तर्गत गोरखाको आरूघाट गाउँपालिका कमिटीको बैठक सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि किशोरबिक्रम मल्लको प्रमुख आतिथ्यता र गाउँपालिका कमिटी अध्यक्ष मिनबहादुर अधिकारीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा प्रदेश कमिटी सदस्य रामप्रसाद शर्मा, मिना बराम, कृष्ण काप्री, भिमबहादुर धमलालगायत सहभागी हुनुहन्थ्यो ।
बैठकले प्रदेश कमिटी, जिल्ला कमिटी सदस्य तथा पालिका कमिटी सदस्यहरूको वडागत कार्यविभाजन र गाउँपालिकाभित्र चैत २६ गतेसम्म हुने विभिन्न कार्यक्रमहरूको कार्यतालिका निर्माण गरेको छ ।
कपिलवस्तु

मिसन ग्रासरूट अभियानअन्तर्गत आज कपिलवस्तुको शिवराज नगरपालिकाको नगर कमिटी बैठक सम्पन्न भएको छ । केन्द्रीय कमिटी सदस्य पशुपति दयाल मिश्रको प्रमुख आतिथ्यता र नगर कमिटी अध्यक्ष जगतप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सचिवालय सदस्य जंजीरप्रसाद चौधरी र प्रदेश कमिटी सदस्य प्रभा पौडेललगायत नेताहरूले प्रशिक्षण दिनुभएको थियो । बैठकले अभियानलाई सफल पार्न कार्य विभाजन गरेको छ ।
बाँके

मिसन ग्रासरूट अभियानअन्तर्गत आज बाँकेको डुडुवा गाउँपालिका कमिटीको बैठक बसेको छ ।
पार्टी केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यता र नेकपा एमाले डुडुवा गाउँपालिका कमिटी अध्यक्ष विनय दिक्षितको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा केन्द्रीय सदस्य ज्ञवालीसहित किस्मत कक्षपति, विजय यादव र घननाथ खनाललगायतले प्रशिक्षणमुलक सम्बोधन गर्नुभएको थियो ।
बैठकमा विभिन्न पार्टी परित्याग गरी लल्लन प्रसाद यादवको नेतृत्वमा नेकपा एमाले प्रवेश गर्नुभएकाहरूलाई स्वागत गरिएको थियो । यस्तै, बैठकले झङ्कबहादुर थापाको संयोजकत्वमा १० सदस्यीय पालिका सभादल गठन गरेको छ ।
प्यूठान

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत प्यूठान जिल्लाको मल्लरानी गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपानेको प्रमुख आतिथ्यता र गाउँपालिका कमिटी अध्यक्ष सुनिल शाही लेकालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश कमिटी सदस्य मधुर शर्मा, विष्णु बीसी, जिल्ला अध्यक्ष विजयविराज बिष्टलगायत नेताहरू सहभागी हुनुहुन्थ्यो । पाँच वटा वडा रहेको मल्लरानी गाउँपालिकाको सबै बस्तीहरूमा अभियान पुर्याउने योजना तय गरिएको छ ।
जुम्ला

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत एमाले जिल्ला कमिटी जुम्लाको विस्तारित बैठक बसेको छ । आज बसेको बैठकले अभियानका लागि कार्ययोजना निर्माणका निम्ति समूहगत छलफल गरेको थियो ।
बैठकले आठ वटै पालिकामा अभियानलाई अगाडि बढाउनका साथै वडा तहमा आवश्यकताअनुसार विभिन्न क्रियाकलापहरू सञ्चालन गर्ने निर्णय गरेको छ ।
अभियानका लागि पार्टी केन्द्रीय सदस्यहरू विष्णु रिजाल, नगीन्द्र शाही, दक्षिणा शाही र केन्द्रीय प्रतिनिधि गेहेन्द्र दाहाल अबको डेढ महिना जुम्लामै रहनुहुने भएको छ । मिसनका कर्णाली संयोजक तोकिनुभएका पार्टी सचिव योगेश भट्टराई, कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेल र सहइञ्चार्ज गोरखबहादुर बोगटीको उपस्थितिमा हिजोदेखि जुम्लामा औपचारिक रूपमा अभियान सुरू भएको हो ।
काठमाडौं
नेकपा एमालेको मिसन ग्रासरूट अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाको पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । बैठकले अभियानअन्तर्गत चैत ८ गतेसम्म सञ्चालन गरिने कार्यक्रमहरूको कार्यतालिका निर्माण गरेको छ । साथै अभियान सञ्चालनमा सहजताका लागि महानगरका ३२ वटै वडामा छुट्टाछुट्टै कमिटीहरू पनि गठन गरिएको छ ।
रूकुम पश्चिम

मिसन ग्रासरुटअन्तर्गत रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज पालिकास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पालिका अध्यक्ष अतिराम ओलीको अध्यक्षतामा यदु स्मृति हलमा भएको कार्यक्रममा नेताहरू सीपी घर्ती, नारायणकुमार शाह, कर्णबहादुर घर्ती, नन्दराम देवकोटा र मोतिराम विकले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडागत रिपोर्टिङ्ग तथा समीक्षा गरिएको छ ।
धादिङ

नेकपा एमालेले सुरु गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत आइतबार धादिङको विभिन्न पालिकाहरूमा पालिका कमिटीको बैठक सम्पन्न भएको छ । अभियानअन्तर्गत ज्वालामुखी, सिद्धलेक, गल्छी र गजुरी गाउँपालिका तथा नीलकण्ठ नगरपालिकाको पालिका कमिटी बैठक बसेको हो । बैठकले वडाहरूको बैठक, जनसंगठनहरूको भेला तथा प्रशिक्षण कार्यक्रम आयोजनाका लागि कार्ययोजना निर्माण गरेको छ ।
















प्रतिक्रिया