
जुम्ला, १४ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० गतेको सहमतिमा फर्किन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।
नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ शुभारम्भ गर्न आज आइतबार जुम्ला पुगेका भट्टराईले एमालेसहितको सात दलीय गठबन्धनमा फर्किदा मात्रै प्रचण्डको खुट्टा बलियो हुने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डका खुट्टा लुला भएकाले हल्लिरहेको चर्चा गर्दै सचिव भट्टराईले हल्लिएको खुट्टा बलियो बनाउने हो भने आफू प्रधानमन्त्री बन्न पुस १० गते आफैले गरेको सहमतिमा फर्किन आग्रह गरेका छन् । ‘नेकपा एमालेले लगाइदिएको फलामका खुट्टा प्रचण्डले फेर्दा अहिले उहाँ हल्लिरहनुभएको छ,’ भट्टराईले भने, ‘हल्लिएका फलामको खुट्टालाई बलियो बनाउन पुस १० गतेको सहमतिमा फर्किनुहुन्छ भन्ने विश्वास हामीलाई छ ।’
यदि प्रधानमन्त्री प्रचण्डले पुस १० गतेको सहमति भङ्ग भएको औपचारिक घोषणा गरे भने बेग्लै खालको नयाँ राजनीतिक समीकरण निर्माण हुने भट्टराईको भनाइ छ । प्रचण्डले गरेको निर्णय सच्चिनेमा एमाले विश्वस्त रहेको उनले बताएका छन् ।
रापप्राले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको हुनाले संविधान अनुसार ३० दिनभित्र पुन: प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने उनको भनाइ छ ।















प्रतिक्रिया