१ कार्तिक २०८३, शनिबार

बागमतीका ८ लाख ३३ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाइयो

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ७ फागुन । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश भित्रका ८ लाख ३३ हजार १ सय ८९ भेडाबाख्रालाई पीपीआर खोप लगाएको छ ।

भेडा तथा बाख्रामा लाग्ने हैजा रोगविरुद्ध पीपीआर खोप लगाइएको हो ।

सप्ताहव्यापी खोप अभियानअन्तर्गत शनिबारसम्म मन्त्रालयले प्रदेशका ४ हजार २६४ वटा भेडा र ८ लाख २८ हजार ९२५ वटा बाख्रालाई गरि जम्मा ८ लाख ३३ हजार १८९ वटा भेडाबाख्रालाई पीपीआर खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।

फागुन १ गतेदेखि सुरु भएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत प्रदेशका १३ वटा जिल्लाका किसानले पालेका भेडाबाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाइएको अधिकारीले जानकारी दिए ।

खोप कार्यक्रम ४२५ जना भ्याक्सिनेटर र १ हजार २४४ खोप केन्द्रबाट सञ्चालन भएको उनले बताए । अभियानबाहेक अन्य समयमा समेत मन्त्रालयले भेडाबाख्रालाई उक्त खोप लगाउँदै आएको छ ।

हैजा भेडाबाख्रामा विषाणुबाट लाग्ने संक्रामक रोग हो । नेपालमा हैजाका कारण बर्सेनि भेडाबाख्रा मरेर कृषकहरूले ठूलो आर्थिक हानि बेहोर्नुपरेको छ । यस्तो अवस्था आउन नदिनका लागि खोप अभियान सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । अफ्रिकी देशबाट सुरु भएको यो रोग नेपालमा पनि सबैजसो जिल्लामा देखापरेको छ ।