
काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको दीर्घकालीन शान्ति, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको टिप्पणी गरेका छन् ।
मुलुकको दीर्घकालिन हितका लागि राजनीतिक दलहरू र राजसंस्थाबीच सहकार्य हुनु आवश्यक रहेको उनको भनाई छ । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले देशको दीर्घकालीन शान्ति, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको बताउँदै अब देश र प्रजातन्त्र जोगाउनको लागि राजनीतिक दलहरू र राजसंस्था सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताए ।
शाहले अत्यन्तै प्रतिकुल पलहरूमा पनि देश र जनताले संयम्ता र देशभक्ति नगुमाएको उल्लेख गर्दै नेपालको निरन्तर अधोगति प्रति अब मौन रहन नसकिने बताए ।
‘नेपालको निरन्तर अधोगति प्रति अब हामी मौन रहन सक्दैनौँ । यी यावत वर्षहरूमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन,’ विज्ञप्तिमा भनिएको छ ।
विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमुलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा देश फसेको उनले टिप्पणी गरेका छन् ।
हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशामा केही परिवर्तनको आशा गर्न सकिएपनि देशभित्र उज्यालो सम्भावना नदेखिएकोले युवाहरु अप्रिय बाटो रोज्न बाध्य भएको पनि पूर्वराजाले बताएका छन् ।
उनले भनेका छन्,‘देश बलियो बनाउने, समाजलाई आफ्नो राष्ट्रिय परिचयसहित रूपान्तरण गर्ने र भावी पुस्तालाई समुन्नत नेपाल छोडेर जानका लागि राजनैतिक तथा सामाजिक रूपले दबाब दिन सक्ने युवा शक्ति बाहिर हुँदा राजनीतिक दलका नेताहरूलाई हाइसन्चो भएको भान होला । तर कडा मेहनत गरी आफ्नो खुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपालीहरू अहिले निराश छन् । देशभित्र उज्यालो सम्भावना नदेखिएकोले अप्रिय बाटो रोज्न बाध्य छन्।’
















प्रतिक्रिया