
काठमाडौं, ६ फागुन । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् ।
शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले गुरुङलाई आगामी ४ वर्षका लागि सिइओ नियुक्त गरेको हो । उनले सोमबार कार्यभार सम्हाल्दै छन् । कृषि विकास बैंकको सिइओ बन्न गुरुङसहित पाँच जनाले शनिबार अन्तर्वार्ता दिएका थिए ।
गुरुङ सिभिल बैंकका पूर्वसिइओ हुन् । सिभिलपछि उनले पछिल्लो समय म्यानमार सिटिजन बैंकमा सिइओ भएर काम गरिरहेका थिए । विदेशी बैंकको सिइओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् ।
नवनियुक्त सिइओ गुरुङसँग बैंकिङ क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।
उनले हिमालयन बैंकमा साढे १० वर्ष काम गरे । त्यसपछि उनी ग्लोबल आईएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे । ग्लोबल आईएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा तत्कालीन मेगा बैंक प्रवेश गरेका थिए । मेगा बैंकमा साढे दुई वर्ष काम गरे ।
त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सिइओ भए । गुरुङ सोही बैंकको सिइओ समेत बने । उनले कमजोर अवस्थामा रहेको सिभिल बैंकलाई पुराना र अब्बल भनिएका बैंकसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्याएका थिए ।















प्रतिक्रिया