२ कार्तिक २०८३, सोमबार

संस्कृतिविद् एवं गीतकार एकेन्द्र गुरुङ लमजुङको घलेगाउँमा सम्मानित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । संस्कृतिविद् एवं गीतकार एकेन्द्र गुरुङलाई लमजुङको घलेगाउँमा सम्मान गरिएको छ ।

बेलायतमा बसोबास गर्दै आएका गुरुङलाई क्व्होलासोंथार गाउँपालिका-३, घलेगाउँबासीले सम्मान गरेका हुन् । गुरुङ पुर्ख्यौली घर क्व्होलासोंथार गाउँपालिका ६ पसगाउँ हो । गुरुङ घरबिदामा नेपाल आएका बेला पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले सम्मान गरेको हो ।

‘तमू धिं युके’ का सल्लाहकार समेत रहेका गुरुङले घलेगाउँको गाउँ चिनारी गीत ‘छल छ्याँब ङए कोंइम्ली नासा’ बोलको गीत रचना गरेका छन् । पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले गुरुङलाई भेडाको उनबाट बुनेको बख्खु ओढाउनुका साथै फूलमालाले सम्मान गरेका थिए ।

गुरुङले रचना गरेको गीतमार्फत स्मार्ट भिलेज घलेगाउँको प्रचारप्रसारमा थप टेवा पुगेको भन्दै सम्मान गरिएको पर्यटन समितिले जनाएको छ । गीतकार गुरुङको स्वागतमा गाउँकै हिमाली आमा समूह, कन्या ज्योति युवा क्लब र घलेगाउँ साँस्कृतिक परिवारले मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

कार्यक्रममा क्व्होलासोंथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, वडा नं. ३ का अध्यक्ष आसवीर गुरुङ, वडा नं. ६ पसगाउँका अध्यक्ष मनलाल गुरुङ, घलेगाउँ घर भइ बेलायत बसेर हाल गाउँ फर्किएका नवराज घले, क्व्होलासोंथार गाउँ कार्यपालिका सदस्य गंगा घलेलगायतको उपस्थिति रहेको थियो ।

पर्यटन समितिका सचिव उमलबहादुर विकका अनुसार घलेगाउँबासीले यसअघि ‘मैले जन्मेर हुर्केको गाउँ र घुम्नै पर्ने ठाउँ’ गरी २ वटा नेपाली भाषाको गाउँ चिनारी गीत निर्माण गरिसकेका छन् । एकेन्द्र गुरुङद्धारा रचना गरिएको ‘छले छ्याँबा ङए कोंइम्ली नासा’ घलेगाउँको तेस्रो र पहिलो गुरुङ भाषाको गीत हो ।

धनबहादुर गुरुङले रचना गरेका यो गीतमा धनबहादुर गुरुङ आफैं, केशबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङले आवाज दिएका छन्। वि.स २०५७ सालबाट घरवास कार्यक्रम सञ्चालन थालेको गाउँगाउँमा हाल ४२ घरमा होमस्टे सञ्चालित छन् ।