
काठमाडौं, ५ फागुन । भारतको ओडिशास्थित पुरीमा रहेको गोवर्द्धन मठका शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाशिवरात्रिको पूर्व सन्ध्या बिहीवार साँझ काठमाडौं आएका छन् ।
नेपाललाई मात्र नभई भारतलाई समेत हिन्दू राष्ट्र बनाउने अभियानमा लागेकाहरूको निम्ति निश्चलानन्द सरस्वती चिरपरिचित नाम हो। आदि शङ्कराचार्यले भारतका चार दिशामा स्थापना गरेका चार वटा मठमध्ये गोवर्द्धन मठ एक हो।
हिन्दूहरूको चार धाममध्ये जगन्नाथ मन्दिर रहेको पुरीमा गोवर्द्धन, रामेश्वरममा श्रृङ्गेरी, द्वारकामा शारदा र बद्रीनाथमा ज्योतिर्मठ छन्। तर गोवर्द्धन मठका शङ्कराचार्य नेपाल मामिलामा विशेष चर्चामा आइरहन्छन्। उनी यसअघि पनि पटक पटक नेपाल आएका थिए। यस पटक शिवरात्रिको अवसरमा आयोजित कार्यक्रमहरूमा उनी सहभागी हुनेछन्।
पशुपति क्षेत्र विकास कोषको निम्तामा आएका उनको सुरक्षा प्रबन्ध सरकारले मिलाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका स्वकीय सचिव बेनुप खत्रीले जानकारी दिए।शनिवार महाशिवरात्रिका दिन शङ्कराचार्यको अभिनन्दन कार्यक्रम राखिएको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन हुने उनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए। शङ्कराचार्यले प्रवचन दिने, सम्मान ग्रहण गर्ने र एउटा मन्दिरको अनावरण गर्ने कार्यक्रम पनि राखिएको विश्व हिन्दू महासङ्घकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले बताइन्।
धर्म निरपेक्ष राष्ट्र घोषणा गरिए पनि त्यसका पक्षपाती नेताहरू शङ्कराचार्यको कार्यक्रममा सहभागी हुने गरेका छन्।















प्रतिक्रिया