१ कार्तिक २०८३, शनिबार

बैंकको चर्को ब्याजदरले सम्पूर्ण व्यवसायीहरु ‘प्रेमप्रसाद आचार्य’ बन्ने खतरा बढ्यो : अचुतम कटुवाल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । नेपाल निर्माण सामग्री व्यापार संघका अध्यक्ष अचुतम कटुवालले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण सम्पूर्ण व्यवसायीहरु ‘प्रेमप्रसाद आचार्य’ हुने अवस्था आएको बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरको ज्यादतीविरूद्ध आन्दोलन घोषणा गर्न विभिन्न ३५ वटा व्यावसायिक संघसंस्थाहरूले आज काठमाडौंमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष कटवालले बैंकको ब्याजदरकै कारण व्यापार व्यवसाय बन्द गरेर भूमिगत हुनुपर्ने अवस्था आएको बताएका हुन् ।

‘अहिले व्यपार व्यवसायहरु बन्द गर्नुपर्ने स्थिति छ । हामी सबै व्यवसायी साथीहरूलाई ‘प्रेमप्रसाद आचार्य’ हुनलाई त्यति गाह्रो नहोला भन्न सकिन्न,’ अध्यक्ष कटुवालले भने, ‘हामी सम्पूर्ण प्रेम आचार्य हुन सक्छौं । त्यो कारण बैंकको चर्को ब्याज नै हुनेछ ।’

बैंकको चर्को ब्याजको ज्यादतीविरुद्ध आन्दोलनमा उत्रनुको कुनै विकल्प नभएको उनको भनाइ छ । व्यवसायी पीडामा छटपटाइरहेको बेला सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ ।

व्यापारीलाई सडकमा आउने स्थितिको निर्माण सरकार स्वयम्ले गरेको दाबी गर्दै उनले सरकार–व्यवसायीको सम्बन्ध नङ र मासुको जस्तो भए पनि व्यवसायीको विद्यमान मर्का नबुझेको बताए । अध्यक्ष कटवालले सरकारले व्यसायीका लागि सहज वातावरण बनाउन पर्नेमा जोड दिएका छन् ।

उनीहरूले पत्रकार सम्मेलनमार्फत फागुन ५ गतेदेखि संयुक्त आन्दोलन गर्ने घोषणा गरेका छन् । अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, निजी स्वार्थ, सरकारले दीर्घकालीन उत्पादनमुखी अर्थतन्त्रमा प्राथमिकता नदिनु, अस्थिर राजनीति र नेतृत्ववर्ग तथा जिम्मेवार निकायहरूको गैरजिम्मेवार शैली भएको उनीहरूको ठहर छ ।

बैंकिङ ब्याजदर एक प्रतिशत कायम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्नेलगायत माग व्यवसायीका छन् ।