१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्डद्वारा गेटा मेडिकल कलेजका विषयमा छलफल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गरेका छन् ।

गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिम क्षेत्रका बिभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने वहालवाला तथा पूर्व सांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।

फागुन १ गतेदेखि विकास आयोजनाहरुको अनुगमन र निरिक्षणका लागि आफ्नो कार्यकालको पहिलो भ्रमणका क्रममा सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जानुअघि भएको एक छलफलमा प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन् ।

छलफलका क्रममा प्रचण्डले विकास आयोजनाहरुको अनुगमन गर्ने क्रममा पहिलो भ्रमण सुदूरपश्चिमबाटै गर्न लागेको जानकारी दिए ।

“मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणा समेत गरेको थिएँ” प्रचण्डले भने, “गेटा मेडिकल कलेजलाई समेत राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा विकास गर्ने कुरा मेरा लागि गौरवको विषय हो ।”

प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए।

यो सुदूरपश्चिम र सिँगो नेपालकै लागि निकै ठूलो गर्व र खुसीको कुरा भएको बताउँदै प्रचण्डले नेपालमा आजसम्म पनि स्वास्थ्यविज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टिकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पुरा गर्ने सबैले विश्वास लिएको बताए ।