
काठमाडौं, २६ माघ । आगामी चैत २ देखि ६ गते अर्थात् मार्च १६–२० सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को ‘जुरी’ प्रमुखहरु मनोनित गरिएका छन् ।
फिचर फिल्मतर्फको प्रमुखमा भारतीय चलचित्र उद्योगका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार र छोटो तथा डकुमेन्ट्री फिल्मतर्फको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन ली रान मनोनित भएकी छिन् ।
प्रेमेन्द्र मजुमदार भारतीय चलचित्र जगतमा पुनर्जागरण ल्याउने व्यक्ति मानिन्छन् । चलचित्र समालोचना, लेखन, क्युरेटिङ तथा परामर्शका क्षेत्रहरूमा प्रेमेन्द्रले आफूलाई विश्वव्यापी फिल्म समुदायको आवाजको रूपमा स्थापित गरेका छन् ।
चलचित्र र सामाजिक गतिशीलताको राजनीतिमा विचार–उत्प्रेरक व्याख्यानहरू दिनेदेखि लिएर दक्षिण एसियाली स्वतन्त्र सिनेमाका नवीनतम प्रवृत्तिमा प्रेमेन्द्रको योगदान प्रभावकारी रहेको छ । प्रेमेन्द्रले अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल कान्स र काइरो अन्तर्राष्ट्रिय फिल्म क्रिटिक्स सप्ताहलगायत निकै प्रतिष्ठित चलचित्र महोत्सवहरूमा ओजनदार उपस्थिति जनाएका छन् ।
प्रेमेन्द्रको सबैभन्दा उल्लेखनीय उपलब्धिहरू मध्ये एक बृहत्त अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सुरुवात हो, जुन भारतका ४० भन्दा बढी शहरहरूमा प्रदर्शन गरिन्छ । सन् २०१५ मा कोलकातामा उद्घाटन गरिएको यो महोत्सव एक प्रमुख सांस्कृतिक कार्यक्रम भएको छ, जसले विश्व सिनेमाका उत्कृष्ट फिल्मलाई देशभरीका दर्शक माझ पुर्याउँछ ।
त्यसैगरी ‘इन्टरनेशनल स्कूल अफ बेइजिङ फिल्म एकेडेमी’की डीन लि रान फिल्म मार्केटिङ र वितरण पक्षको ज्ञाता मानिन्छिन् । उनी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आयोजना र क्युरेटिङमा निकै अनुभवी छिन् । उनले चलचित्रसँग सम्बन्धित धेरै कार्यक्रमको प्रमुख आयोजकको रुपमा समेत अनुभव बटुली सकेकी छिन् ।















प्रतिक्रिया