१ कार्तिक २०८३, शनिबार

नेपाली तरकारीको न्यूनतम मूल्य निर्धारण गर्न फोरएच नेपालको माग

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । फोरएच नेपालले नेपाली तरकारीको न्यूनतम मूल्य निर्धारण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

चितवनका किसानले आफूले उत्पादन गरेको तरकारीले उचित बजार मूल्य नपाएपछि तरकारी सडकमा फालेर बिरोध जनाएको एक हप्ता पुग्दा पनि सरकारले कुनै पहल कदमी नगरेको भन्दै संस्थाले आज बिहीबार विज्ञप्ति जारी गरी किसानका मागप्रति ध्यान दिन सरकारलाई आग्रह गरेको हो ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा जारी विज्ञप्तिमा पीडित किसानका माग तत्काल पूरा गर्न र नेपाली किसानले उत्पादन गरेका वस्तुको न्यूनतम मूल्य निर्धारण गर्न माग गरिएको छ । विदेशबाट आयात गरिएका तरकारी सस्तो मूल्यमा बजारमा उपलब्ध हुने गरेका कारण नेपाली किसानले उत्पादन गरेका तरकारीले बजार पाउन नसकेको जनाइएको छ ।

साथै नेपाली किसानको बढी लागत मूल्य बढी हुनु, बजारसँग सिधै पहँुच नहुनु र बिचौलियाकोे कारण किसानले कम मूल्य पाउने गरेका छन् । र, उपभोक्ता बढी मूल्य तिर्नु पर्ने बाध्यता रहेको वक्तव्यमा उल्लेख छ । सरकारले बिचौलियालाई नियन्त्रण गर्न नसकेको र सरकारको बजार मूल्य निर्धारण प्रणाली प्रभावकारी नभएको अवस्थीद्वारा जारी वक्तव्यमा भनिएको छ ।

नेपाली कृषि क्षेत्र, कृषि उत्पादन तथा कृषि बजारीकरणबारेमा नेपाल सरकारसँग आवश्यक तथ्यांक, आवश्यकताको पहिचान तथा व्यवस्थापन प्रणालीसम्बन्धी एकिृकत नीति, योजना तथा कार्यक्रमको अभावले कृषि सम्बन्धी समस्याको दिगो समाधान हुन नसकेको हो ।

फोरएच नेपालले साना नेपाली किसानलाई पूर्ण अनुदान तथा व्यावसायिक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । आवश्यकताका आधारमा मात्र विदेशबाट तरकारी आयात गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग अनुरोध गरेको छ ।

फोर एच नेपाल एक दशकदेखि कृषिमा युवा सहभागिता तथा कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ ।