१ कार्तिक २०८३, आइतबार

सुदूरपश्चिमका मुख्यमन्त्री रावले आज विश्वासको मत लिँदै, नागरिक उन्मुक्ति पार्टी अन्योलमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदैछन् ।

दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट रावलले विश्वासको मत लिन लागेका हुन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि हिजोको प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।

आज पनि नागरिक उन्मुक्ति पार्टीले मत दिन नदिने अन्योल नै रहेको छ । अहिले नाउपाका सांसदहरु काठमाडौंमा छलफलमा छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाउपालाई मनाउने प्रयास गरिरहेका छन् । नाउपाले विश्वासको मत नदिएको खण्डमा सुदूरपश्चिम सरकार ढल्ने सम्भावना रहेको छ ।

५३ सदस्यीय प्रदेश सभामा रावलले सरकार टिकाउन २७ जनाको मत पाउनुपर्छ । प्रदेशसभामा कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) को सभामुख सहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपाका १ र स्वतन्त्र सांसद १ जना छन्।

रावलले विश्वासको मत पाउनका लागि काँग्रेसको नभए नाउपाको र त्यो पनि नभए एकीकृत समाजवादी पार्टीसहित १ जना स्वतन्त्र सांसदले मत दिनुपर्ने छ ।

जसमा काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टीले हालसम्म मुख्यमन्त्री रावललाई विश्वासको मत दिने सम्भावना देखिएको छैन । जसले गर्दा नाउपाले विश्वासको मत नदिएको खण्डमा सरकार ढल्न सक्ने अवस्था छ ।