
काठमाडौं, २५ माघ । नेपाल मोबाइल वितरक संघले मोबाईल डिभाइस म्यानजमेन्ट सिस्टम (एमडीएमएस) छिटो भन्दा छिटो लागु गर्न माग गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले एमडीएमएस रोकिँदा अवैध फोन कारोबार गर्नेलाई फाइदा पुगकोे भन्दै छिटो भन्दा छिटो लागु गर्न माग गरेको हो । यसअघि पुष १५ गतेदेखि लागु हुने भनिएको एमडीएमएस अन्तिम समयमा आएर रोकिएको थियो ।
संघका अध्यक्ष दिनेश चुल्याद्योलेले एमडीएमएस प्रणाली नेपालमा भित्रने माबाइलहरुको तथ्याङ्क राख्ने तथा नियमन गर्ने प्रणाली भएको र अहिले प्रणालीमा समस्या नभई कर व्यवस्थापनमा समस्या देखिएको बताए । एमडीएमएस लागु नहुँदा बार्षिक १४ अर्व बराबरको भन्सार नतिरि फोनहरु भित्रने उनले दाबी गरे ।
त्यस्तै उनले अहिले कर तिरेर कारोवार गर्ने व्यवसायीहरुको मोवाइल बिक्रिबितरणमा कमी आएको बताए । एमडीएमएस लागु भएमा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा गएका नेपाली नागरिकले ल्याउने वा पठाउने फोनमा समस्या आउने कुरा भ्रमपूर्ण रहेको उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक अच्युतानन्द मिश्रले एमडीएमएसलाई पूर्ण रुपमा लागु गर्न गृहकार्य नपुगेकाले तत्कालका लागि स्थगीत गरिएको बताए । उनले एमडीएमएसको परीक्षणकालमा व्यक्तिगतभन्दा पनि अवैध बजारबाट भित्रिएका मोवाइलको दर्ता भएको देखिएको बताए ।
गत पुस १५ गतेदेखि दूरसञ्चार प्राधिकरणले एमडीएमएस कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । तर, विदेशबाट एक भन्दा बढी मोबाइल ल्याउन नपाइने नियमसँगै चौतर्फी बिरोध पछि प्रधानमन्त्रीले एमडीएमएस रोक्न निर्देशन दिएका थिए ।















प्रतिक्रिया