
काठमाडौं, २५ माघ । सिभिल बैंकका कर्मचारीले आजबाट दुई घण्टा पेन डाउन गर्ने भएका छन् ।
पूर्वसहमति विपरीत हिमालयन बैंकले सिभिलका कर्मचारीलाई दमन गरेको भन्दै सिभिलका कर्मचारीहरु आन्दोलित भएका हुन् । सिभिल र हिमालयन अहिले मर्जरको प्रक्रियामा रहेका छन् । सहमति विपरीत हिमालयन बैंकले सिभिलबाट आउने तल्लो तहका कर्मचारीलाई घटुवा गर्ने भनेपछि आज देशभरको शाखामा पेनडाउन गरेका हुन् ।
हिमालयनले सिभिल किन्ने प्रक्रीयामा यसअघि समान हैसियतमा कर्मचारी समायोजन गर्ने भनिएको थियो । उच्च व्यवस्थापनका अधिकारीहरुमात्रै घटुवा हुनसक्ने भनेकोमा अहिले आएर अधिकृतभन्दा तल्लो दर्जाका सबै कर्मचारीलाई एक तह घटुवा गर्ने बताएपछि सिभिलका कर्मचारी आन्दोलित भएका हुन् ।
सकेसम्म सिभिलका कर्मचारी लिन नपरे हुन्थ्यो भन्ने हिमालयका उच्च व्यवस्थापकको मनस्थिति छ । यसका लागि सिभिलले स्वेच्छिक अवकाश योजना पनि ल्याएको छ । तीन दिनका लागि ल्याइएको उक्त अवकाश योजनामा सामेल हुने आज (बुधबार) अन्तिम दिन हो ।
सिभिलले स्वेच्छिक अवकाश लिन चाहने व्यक्तिलाई सेवा अवधिका हिसाबले उपदान दिने भनेको छ । १ वर्ष बराबर २ महिनाको तलव सुविधा उपदानमा दिने गरी अवकाश योजना ल्याइएको हो । उच्च व्यवस्थापनमा पनि त्यस्तै समस्या भएको छ ।
४ वर्षे कार्यकालका लागि १९ महिनाअघि नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल पनि बाहिरिने भएका छन् । यसअघि उनी डेपुटी सीईओ भएर हिमालयन जाने समझदारी भएको थियो । सिभिलको प्रमुख कर्जा अधिकृत रहेका सुमन आचार्य पनि बाहिरिने भएका छन् ।
पद मिलानमा समस्या हुने भएपछि उनी पनि बाहिरिने भएका हुन् । हिमालयन र सिभिल बैंकबीच मर्जरको प्रारम्भिक सम्झौता गत असारमा र अन्तिम मर्जर सम्झौता गत पुसमा भएको थियो । तर एकीकृत कारोबार फागुनबाट सुरु गर्ने तयारी छ ।















प्रतिक्रिया