
हेटौंडा, २० माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा विभाजनपछि पार्टीलाई विभाजित गर्ने र चौतर्फी घेराबन्दी भइरहँदा पनि एमालेले महत्वपूर्ण ऐतिहासिक अभिभारा पूरा गरेको बताएका छन् ।
पार्टीको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आज हेटौंडामा सम्बोधन गर्दै उनले एउटा कोणबाट हेर्दा एमाले आफ्नो अभियानमा सफल देखिए पनि राष्ट्रिय राजनीतिमा चाहे जस्तो भूमिकामा स्थापित हुन नसकेको बताए ।
मुलुकले राजनीतिक स्थायित्व खाजेको भए पनि एमालेले बहुमत नपाउँदा राजनीतिक स्थायित्वमाथि नै चुनौती बढेको उनको भनाइ छ ।
‘हाम्रो पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी गर्ने प्रयासका विरुद्ध हामीले जसरी संघर्ष गर्यौँ त्यसको परिणामको रुपमा आज हाम्रो पार्टी देशको सबैभन्दा लोकप्रिय पार्टीका रुपमा र जनताको रोजाईको पहिलो पार्टीका रुपमा स्थापित भएको छ,’ महासचिव पोखरेलले भने, ‘एक कोणबाट हेर्दा हामी हाम्रो अभियानमा सफल छौँ भन्ने पनि देखिन्छ तर राष्ट्रिय राजनीतिको आवश्यताको कोणबाट हेर्दा मुलुकको राष्ट्रिय राजनीति हामीले चाहेको बाटोमा अगाडि बढ्न सकेको छैन् ।’
ठूलो घेराबन्दीका बीचमा पनि पार्टीलाई विभाजित गर्ने षडयन्त्रलाई सशक्त प्रतिवाद गरेको र पार्टीको रक्षा गर्ने काममा आफूहरू अब्बल सावित भएको बताउँदै उनले प्राप्त चुनावी परिणामलाई बृहत् समीक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
पोखरेलले युवा संघ नेपाल पार्टीको लागि नेतृत्व विकास गर्ने थलो रहेको बताएका छन् । उनले अहिले युवा संघमा आवद्ध रहेका युवाहरुको सक्रियतामा कमी आएको बताउँदै अब युवाहरुले क्षमता र सक्रियताक साथ काम गर्नुपर्नेमा जोड दिए ।
उनले चुनावका बेलामा अरु दलका संगठन भन्दा एमालेको युवा संघ अब्बल भए पनि यसपटक युवा संघले पर्याप्त रुपमा काम गर्न नसकेको भन्दै सक्रियताका साथ लाग्न निर्देशन दिए ।















प्रतिक्रिया