
सिन्धुली, १६ माघ । केन्द्रमा एमाले र माओवादीबीच सत्ता साझेदारी भए पनि सिन्धुलीमा भने तत्कालीन कांग्रेस–माओवादी गठबन्धन कायमै रहेको छ ।
मिनी नगरपालिका चुनाव मानिने जिल्लाको सबैभन्दा ठूलो खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चुनावमा कांग्रेस–माओवादी गठबन्धनलाई एमालेले पराजित गरेको छ ।
सिन्धुलीको कममालाई नगरपालिकाको ४, ५, ६ र ७ नम्बर वडालाई कार्यक्षेत्र बनाएर खानेपानी आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी तथा सरसफाई उपोक्ता संस्थाको छैठौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
माघ १४ गते सम्पन्न चुनावबाट नेकपा एमालेको घनश्याम देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन् । एमालेका देवकोटाले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट साझा उम्मेदवार बनेका काँग्रेसका सुरज मिश्र (शेखर) लाई २८१ मतले पराजित गरेका हुन् ।
नयाँ समितिमा नेकपा एमालेका पाँच जना, राप्रपाको एक र कांग्रेसका दुई जना सदस्य निर्वाचित भएका छन् भने माओवादी केन्द्र क्लिन स्विप भएको छ । काग्रेससँगको गठबन्धनमा माओवादी केन्द्रका चार जनाले सदस्यमा उम्मेदवारी दिएका थिए ।
यो निर्वाचनलाई एमाले र काँग्रेस माओवादीबीचको गठबन्धनले प्रतिष्ठाको विषय बनाएका थिए । निर्वाचनको समयमा गठबन्धन जिताउन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् सिन्धुली क्षेत्र नं. २ का प्रनिधिसभा सदस्य राजन दाहाल नेपाली कांग्रेस सिन्धुलीका पूर्व सभापतिहरू मोहन प्रसाद बराल उज्जवल बराल र कलामाई नगरपालिकाका मेयर समेत रहेका कांग्रेस जिल्ला सभापति उपेन्द्र पोख्रेल मैदानमा उत्रिएका थिए ।
यस्तै, एमाले जिल्ला अध्यक्ष कुमार बहादुर कार्की रामकुमार प्रदीप कटुवाल उमा कोइराला कर्ण घिसिङ्गलगायत नेताहरु सक्रिय थिए ।
महिला सदस्यतर्फ नेकपा एमालेकी शारदा ढकाल (१,२८८ मत) र सुमना थापा (१,०३६ मत) तथा नेपाली कांग्रेसकी चन्द्रकला खड्का (८९२ मत) निर्वाचित भएका छन् ।
त्यसैगरी, खुला सदस्यतर्फ नेकपा एमालेका दशरथ कुमार थापा (९४८ मत) र इन्द्र बहादुर भुजेल (८९४ मत) निर्वाचित भएका छन् । सोही प्यानलबाट राप्रपाका कपिल कुमार श्रेष्ठ (९०४) निर्वाचित भएका छन् ।
नेपाली कांग्रसको लवदेव जोशी (७२५ मत) र स्वतन्त्रतर्फबाट विज्ञान ढकाल (७३२ मत) खुलासदस्यतर्फ निर्वाचित भएका छन् ।















प्रतिक्रिया