
काठमाडौं, १६ माघ । सत्तारूढ दल नेकपा (एमाले) एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले देशलाई मध्यावधिबाट जोगाउनकै लागि एमाले सरकारमा जानुपरेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित साक्षातकार कार्यक्रममा उनले मंसिर ४ को निर्वाचनको परिणामले ६ महिनामै मध्यावधि निर्वाचनको अवस्था सृजना गरेपछि त्यसबार देशलाई जोगाउन एमाले सरकारमा जानुपरेको बताएका हुन् ।
एमालेविरुद्ध गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरुलाई जनताले सरकार सञ्चालनको म्याण्डेट नदिएपछि एमालेले सरकार गठनको पहल गरेको उनको भनाइ छ । ‘नेपाली कांग्रेस र माओवादी केन्द्र अरु दलसहित चुनावमा गएका थिए । सरकार गठनको तयारी पनि गर्नुभएको थियो, उहाँहरुले एमालेलाई हराउने कोशिस पनि गर्नुभएको थियो । तर, जनताले म्यान्डेट नदिएपछि र छ महिनाभित्र नै मध्यावधि निर्वाचन हुने स्थिति देखापरेपछि हामीले सरकार गठनको प्रयास गर्यौं । हाम्रो प्रयास सफल पनि भयो,’ उनले भने ।
नेता तामाङले सरकार गठनका बेलामा भएको सहमतिअनुसार राष्ट्रपतिको निर्वाचनमा एमालेले उम्मेदवार उठाउने र सोही उम्मेदवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गरी निर्वाचित गराउने विश्वास व्यक्त गरे । ‘सरकार गठनको पहल कदमीअनुसार भएको सहमतिमा अब एउटा काम बाँकी छ, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन । राष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले) ले प्रस्ताव गरेको पात्र बन्नेछ । त्यसमा प्रचण्डले समर्थन गर्नेछन्,’ तामाङले भने ।
साथै, एजेण्डाको आधारमा नेपाली कांग्रेसलाई पनि लिएर राष्ट्रिय सहमति खोज्न एमाले सकारात्मक रहेको उनको भनाइ छ । पदीय भागबण्डाको आधारमा राष्ट्रिय सहमतिको कुनै प्रयास नहुने उनले बताए । ‘नेपाली कांग्रेसपनि सरकारलाई समर्थन दिएको पार्टी भएकाले सरकारभित्र सहभागी हुन्छौं भन्ने हो भने हामी राष्ट्रिय सहमतिका लागि त्यसपछि अगाडि बढ्छौं,’ उनले भने ।















प्रतिक्रिया