१ कार्तिक २०८३, आइतबार

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ । नेपाल फिल्म क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा आज फिल्म निर्माणमा रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले दिए।

‘अवसरको खोजीमा रहेकालाई सर्ट फिल्म कम्पिटिसनले अगाडि बढ्न मद्दत गर्न सक्छ । पैसा छैन तर कथा छ भने पनि निर्माणमा हातेमालो गर्न तयार छौँ भन्ने सन्देश दिन यो प्रतिस्पर्धा आयोजना गर्न लागेका हौँ’, क्याम्पस प्रमुख उप्रेतीले भने । म्युजिक नेपालले सङ्गीतसँगै फिल्ममा केही गरौँ भन्ने अभिप्रायले प्रतिस्पर्धा सहकार्य गरेको प्रतिनिधि राजीव लोहनीले बताए । ‘हामी दायरा फराकिलो पार्दै फिल्मकर्मीसँग काम गर्न इच्छुक छौँ । यो एउटा सुरुआत हो’, लोहनीले भने ।

कम्पिटिसनमा निर्णायकका रूपमा अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारी रहनेछन् । ‘सर्ट फिल्म भनेको बेर्ना हो । यही बेर्ना ठूलो भएर रुख बन्छ र फल दिन्छ । फिल्मकर्मीका लागि पनि लघु फिल्म यस्तै बेर्ना हो । सानो चिज बनाउन झन् ठूलो मेहनत पर्छ तर सानो चिजकै सामथ्र्य ठूलो हुन्छ’, निर्णायक बरालले भने ।

प्रतिस्पर्धामा सहभागी हुन चाहने फिल्मकर्मीले आगामी फागुन ३० गतेसम्म कथासार बुझाउनुपर्नेछ भने चैत १७ भित्र स्क्रिप्ट बुझाउनुपर्नेछ । यसरी आएका स्क्रिप्टलाई निर्णायकद्वारा तीन दिन प्रशिक्षण दिइनेछ र तत्पश्चात पुनर्लेखन गरी आएका स्क्रिप्टमध्येबाट १० स्क्रिप्ट छानेर निर्माण सहायता प्रदान गरिनेछ । छानिएका १० फिल्मले निर्माणका लागि रु ७५ हजार नगद प्राप्त गर्नेछन् । यो प्रक्रियापछि निर्माण भएर आएका फिल्ममध्ये पहिलो बन्नेले रु दुई लाख नगद प्राप्त गर्नेछ भने बाँकी अन्यले विधागत रूपमा नगद पुरस्कार पाउनेछन् ।

स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले रु ५० हजार प्राप्त गर्नेछ भने अभिनय, छायाङ्कन, सम्पादन र ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि समान नगद रु ५० हजार प्राप्त गर्नेछन् ।