शनिबार, १४ माघ २०७९
DainikNepal.com
शनिबार, १४ माघ २०७९

लोप हुँदै पञ्चेबाजा

दैनिक नेपाल २०७९ माघ १० गते ८:२८

मुसिकोट, १० माघ । गाउँघरमा हुने विभिन्न सुखद् जमघटमा अनिवार्य जस्तै मानिएको पञ्चेबाजाको प्रयोग अब भने रुकुम पश्चिममा विस्तारै घट्दै जान थालेको छ ।

बाजा बजाउन नयाँँ पुस्ता तयार नहुँदा र सरोकारवाला निकायले संरक्षणमा जोड नदिँदा पञ्चेबाजा संरक्षणमा चुनौती थपिएको हो । दमाहा, ट्याम्की छिल्लर, सहनाइ र नरसिंहा यी पाँच बाजाको मिश्रित स्वर हो पञ्चेबाजा । विवाह, व्रतबन्ध, पूजाआजा र अरु विविध सामाजिक कार्यमा बज्ने यस्ता बाजाको प्रयोग हिजो आज कमै मात्रामा हुन थालेको छ ।

पुरानो पुस्तामा यो बाजा बजाउने सीप भए पनि पछिल्लो पुस्ताले यसमा खासै चासो दिएको छैन । बाजा बजाउने सीपको पुस्तान्तरण हुन नसक्दा यो मौलिक नेपाली सङ्गीत हराउँदै जान थालेको रविलाल नेपालीले बताए ।

पहिले दलित समुदायका विभिन्न जातिले यो बाजालाई पेसा बनाएका थिए तर पछिल्लो पुस्ताले यसमा अभिरुचि नदेखाएपछि रुकुममा पञ्चेबाजा बजाउने कम हुँदै गएका छन् । गाउँमा बाजा बजाउने सबै पुराना पुस्ताका मात्र देखिन्छन् । नयाँ पुस्ताले पञ्चेबाजा बजाउन नसिक्दा पञ्चेबाजा लोप हुने त होइन भन्ने चिन्ता बढेको मुसिकोटका भागिराम परियार बताउँछन् । पञ्चेबाजासँगै अन्य विविध मौलिक संस्कृति संरक्षणमा सरोकारवाला निकायले गरिरहेको प्रयास पर्याप्त हुनसकेको छैन ।

बाजा संरक्षणका लागि बाजा बनाउनेदेखि बजाउने सीपको प्रवद्र्धन र पुस्तान्तरण आवश्यक रहेको मुसिकोट नगरपालिकाका नगर उपप्रमुख विमलकुमार पुन बताउँछन् । बाजा बजाउनेलाई पोसाक र बाजा खरिदमा सहयोग गर्ने, बेलाबेलामा प्रतियोगिता आयोजना गर्ने र विभिन्न र्‍याली, जुलुस, उत्सव तथा औपचारिक कार्यक्रममा सहभागी बनाउने जस्ता काम गर्ने गरिएको उनको भनाइ छ ।

स्थानीय सरकारले पनि पुराना मौलिक बाजा संरक्षणको लागि विभिन्न कार्यक्रम बनाएको उनको दाबी छ । बजारमा पाइने आधुनिक बाजागाजाका कारण पनि पञ्चेबाजा लोप हुँदै गएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्ष तुल देवकोटाको भनाइ छ ।  ‘मौलिक कला, संस्कृति र सङ्गीत हाम्रा अमूल्य सम्पति हुन्’ देवकोटाले भने, ‘हाम्रा पूर्खाले कयौंँ कला, संस्कृति र सङ्गीतको विकास गरेका छन् ।’

यसको संरक्षण र प्रचारप्रसार जरुरी रहेको उनको भनाइ छ । नभए हाम्रा पञ्चेबाजासहित अन्य लोक संस्कृतिको मुहार हाम्रा आगामी पुस्ताले देख्न मुस्किल पर्ने र यसका लागि पछिल्लो पुस्ताको सक्रियता र अभिरुचिको पनि उत्तिकै खाँचो देखिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्षको जोड छ ।

प्रतिक्रिया
सम्बन्धित