
काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
२२औं सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सीमा सुरक्षार्थ उत्तर–दक्षिण, पूर्व–पश्चिम सबैतिर परिचालन गर्न, त्यसका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
सशस्त्र प्रहरीले राजस्व संकलनमा पुर्याएको सहयोगदेखि आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको सुरक्षा गर्ने कामको प्रधानमन्त्री प्रचण्डले प्रशंसा गरे । उनले सशस्त्र प्रहरीलाई हातहतियार, गोलीगठ्ठा, आवास लगायतका सामाग्री लगायत जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुने जानकारी दिए ।
उनले अनुशासित, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले सरकारको सुशासन र समृद्धिको दिर्घकालिन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा विशिष्ठ योगदान पुर्याएको भन्दै ज्ञानेन्द्रराज राइलाई ‘लाइफ टाइम अचिभमेन्ट’ बाट सम्मानित गरिएको थियो ।















प्रतिक्रिया