
काठमाडौं, ९ माघ । नेपाली काँग्रेसले संसदमा प्रमुख प्रतिपक्षीको मान्यता पाएको छ । सोमबार संसद सचिवालयले काँग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेस प्रतिपक्षी हो वा होइन भन्नेमा विवाद देखिएको थियो ।
यसअघि नेपाल मजदुर किसान पार्टीले काँग्रेस प्रतिपक्षी नरहेको भन्दै नेमकिपाले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने भन्दै संसद सचिवालयलाई पत्र लेखेको थियो । तर संसद सचिवालयले काँग्रेसलाई नै प्रमुख प्रतिपक्षी दलको मान्यता दिएको हो ।
‘प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेर बहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरू र अनुसूची-१ तथा अनुसूची-२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ,’ संसद सचिवालयले पठाएको पत्रमा भनिएको छ ।
काँग्रेसले आइतबार प्रमुख प्रतिपक्षी दलको नेताले पाउने सेवा सुविधा माग गर्दै संसद सचिवालयलाई पत्र पठाएको थियो ।















प्रतिक्रिया