१ कार्तिक २०८३, आइतबार

मन्त्रीले विदेशी प्रतिनिधिलाई भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । सरकारले विदेशी प्रतिनिधिहरुलाई मन्त्रीहरुले भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी राष्ट्रका प्रतिनिधिलाई सरकारका मन्त्रीहरुले भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो । बैठकले उखुको मूल्य प्रति क्वीन्टल ५४० रुपैयाँ तोक्दै ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै बैठकले बिभूषण वितरण गर्ने सम्बन्धमा मापदण्ड तयार गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राडा देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

क्रसर उद्योगसंग सम्बन्धित समस्याका बारेमा बैठकमा छलफल भएको र थप अध्ययन गरी उपयुक्त निर्णयमा पुग्ने उनले बताए । त्यस्तै सरकारको न्यूनतम साझा कार्याक्रम कार्यान्वयनका लागि हरेक मन्त्रालयसंग सम्बन्धित कार्ययोजना बनाउन सात दिनको समय प्रदान गरिएको पौडेलले बताए ।

त्यस्तै बैठकले उर्जा मन्त्रालयका सचिवलाई भौतिक पूर्वाधार मन्त्रालय र भौतिकका सचिवलाई उर्जा मन्त्रालयमा सरुवा गरेको छ । बैठकले सरकारको प्रवक्तामा सञ्चार मन्त्री रेखा शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।