४ कार्तिक २०८३, बुधबार

कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष घर्तीलाई ३ वर्ष ६ महिना कैद फैसला

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १९ पुस । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसाला भएको छ ।

अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले जानकारी दिए ।

निसीखोला –६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागुऔषध  गाँजा, चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो ।

सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश डा भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ गरेको थियो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो ।

तत्कालीन वडाध्यक्षघर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा, चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

घर्ती गत स्थानीय निर्वाचन २०७९ मा तत्तकालिन पाँच दलीय सत्ता गठबन्धनको नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि उनी २०७४ मा भएको स्थानीय निर्वाचनमा कांग्रेसबाट गाउँपालिकाको ६ नम्बर वडामा निर्वाचित भएका थिए ।