१ कार्तिक २०८३, शनिबार

दिनभरका TOP 15 NEWS

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । काठमाडौं र भक्तपुरमा दुई विदेशी नागरिकको हत्या गरेको आरोपमा जन्मकैदको सजाय काटिरहेको फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई रिहा गरेर फ्रान्स डिपोर्ट गरिएको छ ।

उनलाई १० वर्ष नेपाल आउन नमिल्ने गरी शुक्रबार साँझ ६ बजेको विमानबाट फ्रान्स पठाइएको हो ।

यस्तै, विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रामेश्व यादवलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ ।

यादवले २०७० सालमा रुपन्देहीमा कार्यरत रहँदा आर्थिक प्रलोभनमा परेर मुद्वा मिलाएको आरोप लागेको थियो ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एक सुडानी नागरिक पक्राउ परेका छन् । १९ किलो सुनको पेटी लगाएर नेपाल आएका उनी पक्राउ परेका हुन् ।

हेरौँ दिनभरका मुख्य–मुख्य १५ हेडलाइनहरू–

१. चार्ल्स शोभराज डिपोर्ट : १९ वर्षे जेलजीवनपछि ‘बिकिनी किलर’ चार्ल्स शोभराजलाई नेपालले गर्‍यो फ्रान्स डिपोर्ट, केहिदिन नेपालमै बस्न खोजेका उनलाई सुरक्षाको कारण देखाउँदै आजै ६ बजेको उडानबाट पठाइयो, अब १० वर्ष नेपाल आउन नपाउने ।

२. निष्पक्ष रुपमा काम गर्न निर्देशन : कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न सरकारी वकिलहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन, नागरिकको अधिकारको संरक्षण गरी कानुनी सुुनिश्चितता दिलाउन मुख्य भूमिका खेल्न आग्रह ।

३. भ्रष्टाचारमा प्रहरीका एसपी दोषी ठहर : विशेष अदालतको निर्णय उल्ट्याउँदै सिन्धुपाल्चोकका प्रहरी प्रमुख एससपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर, २०७० सालमा रुपन्देहीमा कार्यरत रहँदा आर्थिक प्रलोभनमा परेर मुद्दा मिलाएको सार्वोच्च अदालतको दाबी ।

४. १९ किलो सुनसहित पक्राउ : १९ किलो सुनसहित दुवईबाट काठमाडौं आएका सुडानी नागरिक विमानस्थलबाटै पक्राउ, पक्राउ पर्नेमा २७ वर्षीय मोहम्मद अहमद डफल्ला साराफेल्डिन ।

५. भारतको दादागिरी : दार्चुलास्थित महाकाली नदीमा भारतले फेरि एक पक्षीय रुपमा तटबन्ध निर्माणको काम थाल्यो, भारतले दादागिरी देखाएको भन्दै नेपालीले गरे ढुंगामुढा ।

६. व्यापारीमाथि गोली प्रहार : बारामा भारतीय व्यापारी शिवपुजन यादवमाथि अज्ञात व्यक्तिबाट गोली प्रहार, घाइते भएका यादवको एसएस न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु ।

७. प्रचण्डलाई फकाउने प्रयास : गठबन्धनबाट पहिलो कार्यकालका लागि प्रधानमन्त्रीको दाबेदार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउँदै कांग्रेस, कांग्रेस नेता प्रकाशमान सिंहले निवासमै पुगेर गरे भेटघाट ।

८. आलोचनापछि पाण्डेको राजीनामा : मुख्यमन्त्री बहाल रहँदै प्रतिनिधि सभा सदस्यको सपथ लिएपछि आलोचित बनेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले दिए पदबाट राजीनामा, काम चलाउ सरकारको जिम्मेवारी पाण्डेलाई नै ।

९. दुई सांसदले आज लिए सपथ : बिहीबार सपथ लिन छुटेका प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादव र रामकुमार राईले आज लिए पद तथा गोपनीयताको सपथ, बाँकी अन्यले उपयुक्त समयमा सपथ लिन सक्ने संसद सचिवालयको भनाई ।

१०. संसदीय दलको नेतामा शाही : कर्णाली प्रदेश कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन, शाहीको प्रस्तावकमा राजीवविक्रम शाह र समर्थकमा जानकी सिंह ।

११. छोराको पार्टीमा बुबा प्रवेश : बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा स्वतन्त्र निर्वाचित सांसद लालवीर चौधरी छोरा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश, बुहारी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गरिन् स्वागत ।

१२. सपथ बदरको माग : जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सीके राउतको सपथ बदर गर्न माग गर्दै संसद सचिवालयमा मैथिली साहित्य परिषद्ले बुझायो ज्ञापनपत्र, हुँदै नभएको मधेशी भाषामा सपथ लिएर भैथिली भाषीको भावनामा चोट पुर्‍याएको जिकिर ।

१३. हिउँदे अधिवेशनका लागि आग्रह : पुस १७ गतेका लागि बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न मन्त्रीपरिषद् कार्यालयलाई आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय, ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले पुस १४ गते प्रदेश सभाका १०९ जना सदस्यलाई सपथ गराउने ।

१४. आत्मघाती विष्फोट : पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती बम विष्फोट हुँदा एक जना प्रहरीसहित दुई जनाको मृत्यु, ८ जना घाइते ।

१५. नेपाल लगातार पराजित : बंगबन्धु एशियन यू–२३ सेन्ट्रल एशियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित, श्रीलंका ३–० को सोझो सेटमा विजयी ।