
कपिलवस्तु, ७ पुस । हाम्रो नेपाली समाजमा सदियौंदेखि पितृहरूको स्मरणमा धर्मकर्म, दानपुण्य, तीर्थब्रत लगायत विविध कार्य गर्ने प्रचलन छ, तर कपिलवस्तुको शिवराज–५ चन्द्रौटाका एक दम्पत्तिले बेग्लै कार्य गरि पितृ स्मरण गरेका छन् ।
उनीहरूले पितृको स्मृतिमा एक विद्यालयमा अध्ययनरत गरिब तथा अति विपन्न बालबालिकालाई न्यानो स्वीटर प्रदान गरेका छन् ।
चन्द्रौटामा विकास टेलर्स सञ्चालन गरी दुई छोराहरूको शिक्षादीक्षा र पारिवारिक गुजारा चलाउँदै आएका दम्पत्ति विष्णु कँडेल र गीता घिमिरे (कँडेल) ले स्वर्गीय सासुससुरा एवम् आमाबुबा र स्वर्गीय दाजुहरूको स्मरणमा स्कूले विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेका हुन् ।
शिवराज–१, शिवपुरस्थित सरस्वती आधारभूत विद्यालयमा पुगी कँडेल दम्पत्तिले २७ जना विपन्न बालबालिकाहरूलाई न्यानो स्वीटर वितरण गरे । बढ्दो चिसोबाट साना बालबालिकाहरूलाई राहत पुगोस भन्ने हेतुले मिहिनेत परिश्रम गरी कमाएको रकममध्ये फजुल खर्च कटौती गरि न्यानो स्वीटर वितरण गरेको विष्णु कँडेलले बताए ।
बालबालिकाहरूलाई न्यानो कपडा वितरण गर्न पाउँदा आफूहरूलाई आत्मसन्तुष्टि मिलेको भन्दै कँडेल दम्पतीले खुशी ब्यक्त गरे । यस किसिमको सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने उनीहरूले उदघोष गरेका छन् ।















प्रतिक्रिया