
बुटवल, ७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगका उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्ने बताएकी छिन् ।
रूपन्देही उद्योग संघले आयोजना गरेको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको आज बिहीबार बुटवलमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यापार घाटा बढिरहेको र विदेशी सञ्चितिमा गिरावट आउन नदिन आयात प्रतिस्थापन गर्ने वस्तुको उत्पादन गर्नुपर्नेमा जोड दिएकी हुन् ।
जडिबुटीजन्य एवम् वन पैदावारमा आधारित उद्योग स्थापनातर्फ केन्द्रित हुन र निर्यात बढाउने दिशामा लाग्न उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् । अर्थतन्त्रको चूनौतीहरूबाट पार पाउन स्वावलम्भी राष्ट्र अर्थतन्त्रको विकासलाई मुलभूत उद्देश्य बनाउनुपर्ने उनको भनाइ छ ।
सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहरका रूपमा विकास गर्दै सभ्याता र आधुनिकताको नयाँ संगमस्थल बनाउन आफ्नो साथ रहने प्रतिवद्धता व्यक्त गरिन् ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोलकन गर्ने र २५ करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फ्लोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आईटीलगायत ४५० वटा स्टल रहेका छन् ।















प्रतिक्रिया