
काठमाडौं, ७ पुस । मेगा बैंक नेपाल लिमिटेडको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
आज बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं वार्षिक साधारण सभाले मूल्याङ्कनकर्ताबाट प्राप्त दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मर्जरमा जान स्वीकृति प्रदान गरेको हो ।
मेगा बैंकको १०० कित्ता शेयर बराबर मेगा बैंकका शेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००:९०) मा एक आपसमा गाभ्ने/गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको हो ।
योसँगै नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको बाटो खुलेको छ । दुबै बैंक एक आपसमा गाभिई संयुक्त कारोवार गर्ने, बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहने छ ।
साधारण सभामा बैंककी कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविना देशराज श्रेष्ठले मेगा बैंकको वित्तीय परिसूचक सन्तोषजनक रहेको जानकारी दिइन् । उनका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ९५ करोड रुपैयाँले वृद्धि भई १ खर्ब ५७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।
यसैगरी, कर्जा ३ अर्ब ९१ करोड रुपैयाँले वृद्धि भइ १ खर्ब ५३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत त्रैमासमा बैंकले ५० करोड ९२ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको छ । यसैगरी, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ६ अर्ब ३ करोड रुपैयाँ सहुलियत कर्जा र ५ अर्ब १९ करोड रुपैयाँ पुनर्कजाहरु प्रवाह गरेको छ ।
बैंकलाई थप मजबुत एवम् प्रतिस्पर्धी बनाउन, व्यवसायको दायरा एवम् आकारमा वृद्घि गर्न, शाखा तथा सञ्जालहरुको विस्तारलाई मेगा बैंकले अगाडि बढाउँदै आएको बताएको छ । जसअन्तर्गत २०७८/०७९ मा मेगा बैंकले २१ वटा नयाँ शाखा र १ वटा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याई ९ वटा एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नति गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकको २०८ शाखा, २७ वटा एक्स्टेन्सन काउण्टर सञ्चालनमा छन् ।















प्रतिक्रिया